विज्ञान, गणित र अंग्रेजी पढाउन लाइसेन्स नचाहिने


सूर्यप्रसाद पाण्डे |
२०७१ माघ १८ आईतवार


यो निर्णयले यी विषयमा शिक्षक अभाव नहुने र अन्तिम परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुने समस्या समाधान हुने अपेक्षा


काठमाडौं : विद्यालय तहमा विज्ञान, अंग्रेजी, गणितलगायतप्राविधिक विषय पढाउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएको छ।

लाइसेन्स अनिवार्य गरिएका कारण यी विषयमा शिक्षक अभाव हुँदा पढाइमा बाधा उत्पन्न भएको गुनासाआएपछि मन्त्रालयले लाइसेन्स लिनैपर्ने व्यवस्था हटाएको हो। शिक्षा मन्त्रालयले केही दिनअघि यस्ता विषय पढाउन चाहने व्यक्तिलाई पाँच वर्ष म्याद राखेर अस्थायी अनुमति दिने निर्णय गरेको हो।

शिक्षा नियमावलीमा विद्यालय तहमा स्थायी तथा अस्थायी शिक्षक भएर पढाउन चाहनेले पनि अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने व्यवस्था छ।

मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, 'शिक्षा नियमावलीले जे भने पनि अहिलेका लागि केही विषयमा स्थायी शिक्षण लाइसेन्सबिना नै पढाउन दिने निर्णय गरिएको छ। यो निर्णयपछि शिक्षक अभाव हुने र अन्तिम परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुने समस्या समाधान हुने अपेक्षा मन्त्रालयको छ।'

अहिले लाइसेन्स भएका शिक्षकले विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटरविज्ञानलगायत विषय पढाउन नसक्ने र पढाउन सक्नेसँग लाइसेन्स नभएपछि समस्या आएको छ। यी विषयमा स्थायी र लाइसेन्स प्राप्त पर्याप्त शिक्षक नहुँदा वार्षिक परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुँदै आएका छन्।

एसएलसी परीक्षामा पनि गणित, अंग्रेजी र विज्ञानमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन्। विगतमा केही विद्यालयले शिक्षण लाइसेन्स नभएकालाई यी विषय पढाउन नियुक्ति गर्दा नियमविपरीत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरी परेपछि गुल्मी, पर्वत, बाँकेलगायत जिल्लामा यसरी नियुक्त गरिएका शिक्षकले राजीनामा दिएका थिए।

मन्त्रालयको निर्णयअनुसार पाँचवर्षे अस्थायी अनुमति लिएर गणित, अंग्रेजी, विज्ञान, लेखा, कम्प्युटरविज्ञानलगायत विषय पढाउन पाइनेछ। यसरी पढाउन चाहनेले विश्वविद्यालयमा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षामध्ये जुन संकायमा अध्ययन गरेको भए पनि हुनेछ। नियमावलीमा भने विद्यालय तहमा पढाउन शिक्षाशास्त्र संकाय पढेको हुनुपर्ने व्यवस्था छ।

यसरी अस्थायी अनुमति लिएर पढाउने व्यक्तिले पाँच वर्षभित्रमा स्थायी लाइसेन्स लिनुपर्नेछ। स्थायी लाइसेन्स परीक्षामा सहभागी हुन एकवर्षे वा तीनवर्षे बीएड उत्तीर्ण वा शैक्षिक जनशक्ति विकास केन्द्रले दिने तालिम लिएको हुनुपर्नेछ। मन्त्रालयका प्रवक्ता लम्सालले भने, 'पाँच वर्षभित्रमा स्थायी लाइसेन्स लिन नसक्नेको अस्थायी अनुमति खारेज हुनेछ।'

शिक्षक सेवा आयोगले अस्थायी अनुमतिपत्र दिनेछ। आयोगले यसअघि दुर्गम तथा कर्णाली क्षेत्रमा यस्ता विषय पढाउने शिक्षकलाई मात्र अस्थायी लाइसेन्स दिँदै आएको थियो।

आयोगका अध्यक्ष उदयराज सोतीले भने, 'भर्खर परिवर्तन भएको नियमअनुसार अस्थायी अनुमति लिन चाहनेले शिक्षाशास्त्र वा अन्य संकाय पढेको भए पनि हुनेछ।' आयोगका अनुसार अहिले प्राथमिक, निमावि र माध्यमिक तहमा गरेर करिब ६ लाखले स्थायी शिक्षण लाइसेन्स लिएका छन्।

विद्यार्थीलाई नेतृत्व क्षमता विकास तालिम

काठमाडौं : विद्यालय तहमा पढ्ने विद्यार्थीलाई नेतृत्व क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिने भएको छ। टिमवर्क एजुकेसन फाउन्डेसन र इनसाइट भिजन स्कुलले संयुक्त रूपमा तालिम सञ्चालन गर्न लागेका हुन्। फाउन्डेसनका अनुसार पहिलो चरणमा उपत्यकाका विभिन्न विद्यालयमा कक्षा आठमा अध्ययनरत विद्यार्थीलाई यस्तो तालिम दिइनेछ।

तालिममा विद्यार्थीलाई नेतृत्व क्षमता विकास गर्ने, शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तरिका र समाजका प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गराएर उनीहरूबाट अभिप्रेरणा लिने विषयमा जानकारी गराइने फाउन्डेसनका अध्यक्ष प्रमोद ढुंगेलले बताए।

ढुंगेलले भने, 'अहिलेको प्रतिस्पर्धी जमानामा विद्यार्थीलाई किताबी ज्ञानमात्र दिएर पुग्दैन। उनीहरूको चौतर्फी विकास होस् भनेर यस्तो तालिम सञ्चालन गर्न लागिएको हो।' ढुंगेलका अनुसार तालिम प्रत्येक साता शनिबार सञ्चालन गरिनेछ। भविष्यमा अन्य कक्षाका विद्यार्थीलाई पनि तालिममा समावेश गराउने योजना छ।

0 comments

Write Down Your Responses