विरोध जारी राख्ने विपक्षी मोर्चाको निर्णय, ‘सत्तारुढकै कारण मुठभेडको अवस्था आयो’
काठमाडौं, माघ १० । संविधानसभामा सहभागी एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले कांग्रेस–एमालेले सहमतिको साटो प्रक्रियामा अघि बढ्ने तयारी गरेको भन्दै आफूले निरन्तर त्यसको विरोध जारी राख्ने निर्णय गरेको छ ।
सिंहदबारमा शनिबार बिहान बसेको मोर्चाको बैठकले सत्तारुढ दलको दबाबमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबार प्रक्रिया अघि बढाउन लागेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको बैठकपछि मोर्चाका प्रवक्ता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सत्तारुढ दलहरुकै कारण मुठभेडको अवस्था आएको आरोपसहित मोर्चाले सहमतिको विकल्प खुल्ला राख्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मोर्चामा एकीकृत माओवादी, मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय समाजवादी पार्टीलगायतका ७ दल सहभागी छन् ।
आन्दोलनको स्वरुप र भावी कार्यक्रमबारे मोर्चाले संविधानसभाबाहिर रहेका अन्य राजनीतिक दलहरुसँग पनि शनिबारै दिउँसो छलफल गर्ने जनाएको छ ।
0 comments
Write Down Your Responses