प्रहरीमा जागिर छाडेर भाग्ने क्रम बढ्यो



३ सई र २ असईसहित ३८ प्रहरी भगौडाको सूचीमा

१० माघ, काठमाडौ । नेपाल प्रहरीमा जागिर छाडेर भाग्ने क्रम बढ्दै गएको छ । गएको तीन महिनाको अवधिमा मात्रै तीन प्रहरी नायव निरिक्षक (सई) सहित ३८ जना जागिर छाडेर भागेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
प्रहरीमा जागिर छाडेर भाग्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना नै जारी गरि जागिरमा फिर्ता हुन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको भगौडाको सूचीमा मोरङको इलाका प्रहरी कार्यालय हरैंचामा दरबन्दी भएका प्रहरी नायव निरीक्षक बंशीराज आचार्य, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय नेपालगञ्ज दरबन्दी भएका पर्वत आर्थरडाँडाखर्क-६ घर भएका सई दुर्गाबहादुर गुरुङ र इलाका प्रहरी कार्यालय होलेरी रोल्पा सञ्चारमा दरबन्दी भएका बाग्लुङ राङखानी-६ घर भएका सई सन्तोष आचार्य छन् ।
यसैगरी प्रहरी आयुक्तको कार्यालय रानीपोखरी दरबन्दी भएका प्रहरी सहायक निरीक्षक (असई) सुरेश सिलवाल, इलाका प्रहरी कार्यालय भगवानपुर बाँके सञ्चारमा दरबन्दी भएका असई समीर कुमार पाण्डेय तथा सुनरीको ४ नम्बर गुल्म दुहवीमा दरबन्दी भएका प्रहरी हवल्दार जंगबहादुर राउत पनि गएको प्रहरीको भगौडा सूचीमा छन् ।
काठमाडौ उपत्यकाको विभिन्न ठाउँमा दरबन्दी रहेर भगौडा सूचीमा परेका १० जनाको महाराजगञ्ज प्रहरी कार्यालयले सूचना जारी गरेको छ ।
यस्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको भगौडा सूचीमा परेकाहरु पाँच प्रहरी छन् ।
यस्तो छ भगौडा प्रहरीको सूची
सुनसरीमा कार्यरत प्रहरी जवान जंगबहादुर राउत, जयराम राजबंशी, १ नम्बर गुल्म रानीका सन्तोषकुमार यादव, विराटनगरका रोशन पौडेल, उदयपुरबाट रवि विक, महाराजगञ्जका बुद्धिमान तामाङ, सत्यमान बुलुन, सामाखुशीका उत्तम खत्री, राधिका दुलाल, नारायणहिटीकी साबित्री नेपाली भगौडा प्रहरीको सूचीमा छन् ।
यस्तै, पिमबहादुर केसी, रबिना देशार, दिलिप राई, सुरेन्द्रबहादुर कठायत, तिलकराम थारु, नरेश बस्नेत, संजयकुमार रेग्मी, अमृत गिरी, जीवननाथ सुवेदी, चुडामणी तिमिल्सेना, पदमबहादुर थापा, जीतबहादुर शाही, उमेश पोखराल, रुद्रप्रसाद रेग्मी पनि भगौडा प्रहरीको सूचीमा छन् ।
यसैगरी मनोज कुमार प्रसाद कुर्मी, आशाकुमार प्रजा, सोमबहादुर परियार, जनकबहादुर बस्नेत, कुलदीप शाही, लीलबहादुर राना, टीकाराम पोखरेल, रमेशप्रसाद यादव र इलमबहादुर शाही पनि भगौगा प्रहरीको सूचीमा छन् ।
तत्कालिन द्वन्द्वको समयमा विभिन्न ठाउँबाट आउने दवावका कारण प्रहरीहरु धमाधम भाग्ने गर्थे । तर अहिले पनि प्रहरी भाग्ने क्रम भने नरोकिएको प्रहरीकै तथ्याङ्कले नै जनाउँछ ।
प्रहरी प्रधान कार्यालयको भगौडा सूचीमा रहेका ती प्रहरीहरुलाई गैरहाजिर रहेको भन्दै काममा आउन पटक पटक सूचना जारी गरिए पनि नफर्किएपछि प्रहरी हेडक्वाटर नक्सालले सात दिनको म्याद दिएर काममा फर्किन सूचना जारी गरेको छ ।

0 comments

Write Down Your Responses