७५ वर्षीया आमा विरुद्ध नक्कली तमसुक बनाएर छोराले मुद्दा हाल्यो



ओएस नेपाल, फलेवास, १० माघ । बुढेसकालमा हरेक अभिभावकको चाहना हुन्छ आफ्ना सन्तानले राम्रोसँग पालनपोषण गरुन् । तर केही यस्ता सन्तान पनि हुन्छन् जसले उमेरले नेटो काटेका आफ्ना बाबुआमालाई पालनपोषण त परै जाओस् जालझेल गरेर मुद्दा दिँदै अदालत धाउन बाध्य बनाउँछन् ।

पर्वतको कुस्मा नगरपालिका–१२ चुवाकी एक ७५ वर्षीया वृद्धा आफ्नै जेठो सन्तानले नक्कली तमसुक बनाएर मुद्दा दिएपछि रुँदै अदालत धाउन बाध्य भएकी छन् । आफ्ना जेठा छोरा सेते दमाईंले नक्कली तमसुक बनाएर पर्वत जिल्ला अदालतमा लेनदेन मुद्दा दर्ता गरेपछि ७५ वर्षीया वृद्धा सेती दमिनी अदालत धाउन बाध्य भएकी हुन् । बाबुले दुई वर्ष पहिले ऋण लिएको नक्कली तमसुक बनाएर छोरा सेतेले गएको असोज २९ गते पर्वत जिल्ला अदालतमा लेनदेन मुद्दा दर्ता गरेका छन् ।

सेती दमिनीका तीन छोरामध्ये उनी माहिला छोरातर्फका नाति रमेशको घरमा बस्दै आएकी छन् । उनका श्रीमान् पुर्ने दर्जीको २०७० साउन १० गते मृत्यु भइसकेको छ तर छोरा सेतेले भने २०६९ जेठ १७ मा रु दुई लाख ५० हजार कर्जा लिएको तर अहिलेसम्म साँवा ब्याज नदिएको भन्दै पर्वत जिल्ला अदालतमा लेनदेन मुद्दा दिएका छन् । अहिलेसम्मको साँवा र ब्याजसहित रु तीन लाख नौ हजार २३६ बिगो भर्नुपर्ने माग दाबीसहित मुद्दा दिइएको छ ।


श्रीमान्ले छोरासँग पैसा लिँदै नलिएको तर दुःख दिने नियतले बाबुको नाममा नक्कली तमसुक बनाएर मुद्दा दिएको आरोप सेती दमिनीले लगाइन् ।

“बाबुआमालाई सधँै हेलाहोचो गर्ने छोराले एकसुको ऋण दिने कुरै छैन”, उनले भनिन्, “आफूसँग भएको घर लिनका लागि झुटो तमसुक बनाएर दुःख दिएको छ ।” छोराले सधँै कुटपिट गर्ने र घरबाटै निकालेपछि विरक्तिएर नदीमा हामफालेर आत्महत्या गर्नसमेत हिँडेको सेती दमिनीले बताइन् । छोरासँग हुँदा पनि खाटमा सुतेका बाउलाई तल झारेर खाटको दाउरा बनाउने काम गरेको र गएको असोजमा घरबाट निकालेपछि उनी मर्न भनेर घरबाट पनि हिँडेकी थिइन् । नातिनी बुहारी सविताले बाटोबाट फर्काएर घरमा राखेकी थिइन् । “मर्न भनेर घरबाट हिँडेको देखेपछि परिवारको समेत इज्जतको ख्याल गरेर मैले बाटोमा समातेर ल्याएँ”, सविताले भनिन् । उनका अन्य छोरा र बुहारीसमेत ऋण लिएको कुरा स्वीकार गर्दैनन् । नक्कली तमसुक बनाएर दुःख दिएको उनीहरुको पनि शङ्का छ ।

सेती दमिनीको नाममा बस्दै गरेको एउटा घरमात्रै छ । त्यही घर नातिहरुलाई दिने शङ्का लागेर आफूले हत्याउन नक्कली तमसुक बनाएर लेनदेन मुद्दा दिएको उनीहरुको दाबी छ । उनीहरुका बीचमा २०६८ चैत २९ मा सबै जग्गा जमिनको बन्डापत्र भइसकेको थियो । मुद्दा पर्वत जिल्ला अदालतमा विचाराधीन छ । रासस

0 comments

Write Down Your Responses