प्रक्रियामा जान वा पद छाड्न सभाध्यक्षलाई कांग्रेस-एमालेको दबाब
११ माघ, काठमाडौं ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई बैठकलाई प्रक्रियामा लैजाने वा पद छाडेर अरूलाई बाटो खोलिदिने दुईमध्ये एक विकल्प रोज्न कांग्रेस-एमालेले दबाब दिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलाएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बिहान मधेसी र संघीय समाजवादी पार्टीसहित सात दलको बैठकमा दाहालले सभाध्यक्ष पदमुक्त हुने वा प्रक्रिया थाल्ने अवस्थामा पुगेको जानकारी दिए।
शुक्रबार साँझ सभामुखसँग भएको कुराकानीबारे ब्रिफिङ गर्दै दाहालले भने, 'अवरोध हटाएर सहयोग गर्न उनले आग्रह गरेका छन्। उनलाई पनि अप्ठ्यारो पार्ने काम भएछ।'
सभाध्यक्षले 'तपाईंहरू मान्नुस्-नमान्नुस् अब म प्रश्नावली समिति बनाउने प्रस्ताव पेस गर्छु' भन्ने जबाफ दिएकाले यसलाई जसरी पनि असफल पार्न रणनीति बनाउनुपर्ने प्रस्ताव दाहालले बैठकमा गरे।
तराईमधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले अन्नपूर्णसँग भने, 'सभामुखले आफूलाई धेरै दबाब परेको र त्यो थेग्न नसक्ने अवस्थामा रहेको हामीलाई जानकारी गराउनुभएको छ।'
बैठकमा दाहालले 'जेजे हुन्छहुन्छ अब लड्ने स्थिति आयो' भनेका थिए। एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'माघ ८ को जस्तो जगहँसाइ गर्नु नहुने' धारणा राखे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनले सभामुखमाथि आक्रमण गर्न नहुने तर्क गरेका थिए। 'सीके राउतजस्ता पृथक्तावादी, सशस्त्र समूह र हिन्दुवादी तथा राजावादीका गतिविधिमा ध्यान दिएर रणनीति बनाउनुपर्छ', श्रेष्ठले तर्क गरे। दाहालले भने अबको संघर्ष ट्याक्टिकल हुने बताए।
0 comments
Write Down Your Responses