राजाको भनाइप्रति आ–आफ्नै दाबी सिटौला भन्छन्,सहमति भएको छैन,धमला भन्छन्,सहमति भएकै हो

काठमाडौं,फागुन ७ – प्रजातन्त्र दिवसको अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्रबाट लामो मौनता भंग गर्दै तत्कालीन राजनीतिक दलहरु र राजाबीच सहमति भएको र त्यसको इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै उतिबेला भएको सहमति कार्यान्वयन गर्न माग गरिएपछि राजनीति यो विषयले तरंगित हुन पुगेको छ । राजाको पछिल्लो अभिव्यक्तिलाई लिएर तत्कालीन राजनीतिक दल र राजावादी पक्षबीच जुहारी नै चल्ने देखिएको छ ।

११ बैशाख २०६३ मा राजा र राजनीतिक दलबीच कुनै सहमति नभएको एमालेका नेता भरतमोहन अधिकारीले दाबी गरेका छन् । उनले उतिबेला सहमति भएको भन्ने ज्ञानेन्द्रको दाबी निराधार भएको समेत बताए । ‘राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले राति गिरिजाबाबु निवासमा आएर हातले लेखेको ड्राफ्ट देखाउनुभयो । हामीले संशोधन गरेर पठाएको मस्यौदा जस्ताको तस्तै राजाले पढेका हुन् । राजको सम्पूर्ण वारेस लिएर आएका पशुपतिसँग हाम्रो अन्य कुनै सहमति भएको छैन,’ अधिकारीले राजाको भनाइको खण्डन गर्दै भने ।
त्यसैगरी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रतिनिधि भएर आफैं राजाकोमा गएको र कुनै पनि सहमति नगरिएको दाबी गरेका छन् । ‘उतिबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रतिनिधि भएर म आफैं नारायणहिटी गएको थिएँ’,सिटौलाले भने,‘मसँग मुख्यसचिव,गृह सामान्य प्रशासन सचिव हुनुहुन्थ्यो , पूर्वराजाका कर्मचारीहरु पनि थिए त्यहाँ । त्यतिबेला मैले उहाँसँग एक्लै ४५ मिनेट कुरा गरेको हुँ । त्यस्तो सहमति थियो भने ‘म दरबार छाडेर किन जाने’ भनेर त्यतिबेलै प्रश्न गर्नुपथ्र्यो नि त ? अहिले उहाँलाई उचाल्नेले उहाँकै कुभलो गर्छन् ।’
तत्कालीन राजाका एडिसी टिका धमला भने सहमति भएको दाबी गर्छन् । उनले राजाँसँग आन्दोलनरत सात दलको समझदारीकै आधारमा त्यतिबेला संसद् पुनस्थापना भएको भन्दै तत्कालीन राजनीतिक दलहरुले सहमति कार्यान्वयन नगरेर बेइमानी गरेको बताउँछन् । ‘२०४७ को संविधानअन्तर्गत नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारमा गएर राजासँग सपथ खानुभएको हो । पूर्वराजासँगका सम्झौता कार्यान्वयन नगरेर दलहरु चुकेका छन्,’ धमलाले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

0 comments

Write Down Your Responses