बाबुराम पुत्री मानुषी अखिल क्रान्तिकारीबाट आउट !

काठमाण्डु, २२ फागुन– एकीकृत माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले बिनाअनुमति अध्ययनका लागि विदेश गएका र निस्क्रिय बसेका केन्द्रीय नेताहरुलाई संगठनबाट बिदा दिने भएको छ ।
रमेश मल्ल सम्मेलन आयोजक समितिको संयोजक भएपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको हो ।
क्रान्तिकारीले पूर्वपदाधिकारीमध्येका उपाध्यक्ष जागृत रायमाझी र सुदीप मल्ल, महासचिव बिन्दमान विष्ट तथा सभासद् रहेका उपाध्यक्ष निशा साह र सचिव तेजकुमारी पौडेललाई पनि संगठनबाट हटाउने निर्णय गरेको छ ।
यस्तै बिनाजानकारी अध्ययनका लागि विदेश गएका केन्द्रीय सदस्यहरु नेता बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई, सूर्य ढकाल, लोकनाथ ढकाल, खड्ग बस्नेत, चण्डिका अमगाईंसहित एक दर्जन केन्द्रीय सदस्य हट्ने भएका छन् ।


भट्टराई पुत्री मानुषी भारतको जबारहलाल नेहरु विश्वविद्यालयबाट एमफील गर्दैछिन् । सूर्य ढकाल पोल्याण्ड र अमगाईं जापानमा अध्ययनरत छन् । क्यान सदस्य रहेका सचिव रञ्जित तामाङ र सरकारी जागिर खाएका केन्द्रीय सदस्यहरु गुञ्जमान तामाङ र अनिता सापकोटालगायत पनि संगठनबाट हट्ने भएका छन् ।
व्यवसायमा लागेका डिबी तामाङ (गोल भेंडा खेती), राजु आले (माछा पालन) लाई पनि हटाउने निर्णय भएको छ । यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा लागेका लमजुङका केन्द्रीय सदस्य होमबहादुर विक र जनतान्त्रिक तराई मुक्ति मोर्चा प्रल्हाद गिरीबाट समूहबाट आएका पर्साका केन्द्रीय सदस्य अमित गिरी र आफ्नै अध्यक्षतामा नयाँ पार्टी खोलेका स्याङजाका सुवास पौडेल निष्काशनमा परेका छन् ।
मल्लले पूर्वपदाधिकारीमध्येबाट केन्द्रीय कार्यालयको टिम बनाउने र कार्यालयले उनीहरुलाई संगठनबाट हटाउने निर्णय भएको बताए । यसै साता कार्यालय गठन हुने र फागुन महिनाभित्रै हटाउनुपर्नेलाई हटाइसक्ने मल्लको भनाइ थियो ।
मल्लका अनुसार हालको २ सय ८६ सदस्यीय केन्द्रीय समितिलाई संगठनको विधानअनुसार १ सय ६३ सदस्यीयमा झार्ने निर्णय भएको जानकारी दिए । ‘हामी १९ औं राष्ट्रिय सम्मेलनमा पुराना केन्द्रीय सदस्यलाई बिदा गर्ने कुरा भएको थियो’, मल्लले भने, ‘तर पदाधिकारीको टुंगो लाग्न नसक्दा पुरानै टिम बोकेर हिंड्नुपर्ने भयो । विधानअनुसार आयोजक कमिटी बनाउँछौं । यही महिनाभित्र टुंगो लाग्छ ।’
मल्लले आफूले एक वर्षभित्र सम्मेलन गर्ने दाबी गर्ने उल्लेख गरे ।

0 comments

Write Down Your Responses