दिल्लीबाट ज्ञानेन्द्रले भने, ‘निराश जनता जागरुक हुने बेला आयो’

काठमाण्डु, १ वैशाख– दिल्ली भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले जनता निराश र कुण्ठित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले व्याप्त राजनीतिक अस्थिरताका कारण जनता चरम निराशामा छाएको उल्लेख गरेका छन् ।


ज्ञानेन्द्रले बितेका केही वर्ष नेपाल र नेपालीका लागि उत्साहप्रद नरहेको भन्दै जनशक्ति जाग्ने बेला आएको बताएका छन् । यद्यपि गत वर्षको तुलनामा नयाँ वर्ष मुलुकका लागि सुखद हुने विश्वास उनकले व्यक्त गरेका छन् ।
सबै मिलेर अघि बढ्नुपर्नेमा दलहरु निषेधको राजनीतिमा लागेकाले मुलुक अप्ठेरो अवस्थामा पुगेको निष्कर्ष उनको छ ।
‘सबै मिलेर, सबैमा सामान्जस्य ल्याई सबैलाई समेटेर जानुपर्ने संगीन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भइराख्नु सुखद होइन’, ज्ञानेन्द्रले सन्देशमा भनेका छन्, ‘मेरो धरातलीय अनुभवमा मैले बुझेको कुरा नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, वाधा, वेदना र वितृष्णाको स्थितिमा छन् ।’
निराशा र वितृष्णाबीच जनता जागरुक हुने बेला आएको भन्दै ज्ञानेन्दले जनशक्तिले राष्ट्रिय प्रगतिका लागि प्रयत्न गरिरहनुपर्नेमा जोड दिएका छन् । उनले जनतालाई राष्ट्र र राष्ट्रियताका निम्ति जागरुक हुन अपिलसमेत गरेका छन् ।
‘नियत र नियतिले जति नै निशारा, कुण्ठा र वेदना दिए पनि स्वाभिमानी नेपाली जनता राष्ट्र र राष्ट्रियतानिम्ति जागरुक बन्नुपर्ने अहिलेको बेलाले देखाएको छ’, उनको सन्देशमा छ, ‘जनशक्ति नै अन्ततः त्यस्तो सर्वोत्तम शक्ति हो, जसबाट नै राष्ट्रभक्त र राष्ट्रिय प्रगतिको प्रयत्न परिपूर्ण हुन्छ ।’

0 comments

Write Down Your Responses