सुर्यबहादुर मर्दा हामीले खसी, राँगा काटेको भए हुन्थ्यो

झलकमान राई, छिन्ताङका शहिद श्रीमायाका छोरा
मेरो नाम झलकमान राई हो । म छिन्ताङको शहिद परिवारको सदस्य हुँ । मेरी आमालाई गाऊँमा हाङखिमा साहिँली भनेर बोलाउँथे । तर, उहाँको खास नाम श्रीमाया राई हो । ०२६ साल कात्तिक २९ गते पञ्चेहरुले मेरी आमाको हत्या गरे । म त्योबेला सात वर्षको थिएँ । मेरी बहिनी भर्खर दुई दिन कि थिईन् । तर दुई दिन कि सुत्केरी मेरी आमालाई सुर्यबहादुर थापाका धुपौरेहरुले बाँकि राखेनन् ।


त्यो बेला प्रधानमन्त्री सुर्यबहादुर थापा थिए । उनकै निर्देशनमा हाम्रो गाऊँ छिन्ताङ र छिमेकी गाउँ खोकु र आँखिसल्लाका १६ जना निर्दोष गाउँलेहरुको निर्ममतापुर्वक हत्या गरिएको थियो । त्यो बेला जम्मा सात वर्षको म फुच्चेलाई त्यतिबेलाको घटना अझै चलचित्रको रिल घुमे झै फनफनि घुमिरहेको छ । यसै त विर्सने नसकिने त्यो घटना त्यसमाथि त्यसका खलनायक सुर्यबहादुर थापाको निधनले घटनालाई झनै ताजा बनाएको छ । मन विक्षिप्त भएको छ ।

गाऊँका सामन्तहरुका विरुद्ध कम्युनिष्टहरुले किसान आन्दोलन चलाएका रहेछन् । तर, हामी सोझा जनतालाई त्यसबारे केहि थाहा थिएन । त्यो आन्दोलन दवाउन सुर्यबहादुरको प्रशासनले सोझा गाऊँलेको हत्या गरेको थियो । राजनीतिक कार्यकर्ता कता भागे, लुके उनीहरु बाँचे तर १६ जना निहत्था र निर्दोष गाउँले मारे ।
त्यो दिन अहिले पनि म झलझलि सम्झन्छु– दुई दिन अगाडी अर्थात कात्तिक २७ गतेबाट नै गाऊँका मण्डले र प्रहरीले गाउँलेलाई कुट्ने, पिट्ने र मार्ने गर्न थालिसकेका थिए । दुई दिन पछि उनीहरु हाम्रो घरमा आए । दुई दिन कि बहिनी च्यापेर हामी भाग्यौ तर सुत्केरी आमा भाग्न सक्नु भएन । उनीहरुले पक्रेर लगे । बारीमा लडाएर मरणासन्न हुने गरि पिटे । उनीहरु गएपछि हामीले आमालाई घरमा ल्यायौ तर उहाँको प्राण गईसकेको थियो ।

त्यसको ४५ दिन पछि बिहिनी पनि वितिन् । मैले परिबारका दुई सदस्यलाई एकैचोटी गुमाएँ । त्यो बेलाको पिडा सम्झदा आज पनि सुर्यबहादुरसँग रिस मरेको छैन । उसको बुधबार निधन भएछ । उ मर्दा हामीले खसी, राँगा काटेर खाएको भए पनि हुन्थ्यो । उ वितेपछि खुशियाली मनाउने कि भन्नेबारे छलफल गर्न हामी छिन्ताङेहरु भेला भएका थियौं । तर, कुकुरले टोक्यो भन्दैमा हामीले पनि कुकुरको खुट्टा टोक्नु हुँदैन भन्ने कुरा भएपछि त्यो कार्यक्रम नगर्ने निर्णयमा पुग्यौं ।

उ मरेपछि अहिले शहर बजारमा उसको जयजयकार गरिएको कुरा हामी छिन्ताङबासीहरुले सुनिरहेका छौं । कसैले व्यक्तिगत रुपमा प्रशंसा गर्छ भने हाम्रो पनि भन्नु केहि छैन तर हामी उ मेरेकोमा हामी दुखी छैनौं । एमाओवादीले त विज्ञप्ती नै निकालेर जयजयकार गरेछ । हुनत उसले हिजो राजा वीरेन्द्र मर्दा पनि त्यसरी नै जयजयकार गरेकै हो, उसको त के कुरा गर्नु ?

हिजो उसले हाम्रा बुबा–आमालाई मार्दा हामीलाई जसरी दुखेको थियो आज उसको छोरालाई दुखेको होला । तर त्यो दुखको पिडामा आकाश–जमीनको अन्तर छ । उसले अकालमा निर्ममतापुर्वक हाम्रा परिवारलाई मारेको थियो तर उसको प्राकृतिक मृत्यु भएको छ । त्यसैले पनि उसको मृत्युमा हामीले आशु खसाल्नु पर्ने म देख्दिन ।

त्यसो त उ ज्यूँदो छँदा पनि हामीले छिन्ताङमा उसको पार्टीका कार्यक्रम ल्याउन नदिएकै हो । सुर्यबहादुरलाई फासी दे भनेर नारा लगाएकै हो । विन लादेनलाई दिएको फाँसी सुर्यबहादुरलाई दिनुपर्छ पनि भनेकै हो । तर, नेपालको कानुन त्यस्तो नभएकाले उसले छुट पाए । यत्रो राजनीतिक जीवनको दौरानमा ०२६ साल पछि उसले एक चोटी पनि छिन्ताङ आउने हिम्मत गरेन । आफ्नो पुन्यभूमी टेक्न नपाउनु पनि उसको राजनीतिक पराजय नै हो ।

सुर्यबहादुर थापा पटक–पटक प्रधानमन्त्री हुँदा पनि हामी कहिल्यै खुसी थिएनौं, अहिले मर्दा दुखी पनि छैनौं । खोकु–छिन्ताङका मात्र होईनन्, सुखानी र पिस्करका जनता पनि दुखी छैनन् होला भन्ने लागेको छ । अरु ज–जसले जयजयकार गरे पनि हामी जयजयकार गर्दैनौं । उसको मृत्युमा छिन्ताङको कुनै समवेदना पनि छैन ।

,

0 comments

Write Down Your Responses