सरकार हामीलाई दाल र थाल होइन, शरीर ढाक्ने पाल देऊ

एक साताअघि मातार्तीर्थ औंसीमा घर जाँदा सिमसिम पानी परिरहेको थियो । गाउँ हरियाली थियो । पानीसँगै हरियालीले छाएको मेरो गाँऊ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिबार गोरखालाई केन्द्रबिन्दु बनाएर गएको ७. ८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले गाउँको सौन्दर्यता लुटिदिएको छ । खुसीलाई आँसुमा बदल्दिएको छ ।


सबैको मनमा पीडा दिएर आँसु झेलमा रुमलिदिएको छ । मध्यदिनमा गएको यो महाभूकम्प भयानक कालरात्रिमा बन्न पुग्यो । विपतको यो घडीमा स्वदेशी, विदेशी र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै अन्य संघसंस्थाले घाइतेको उद्धार गर्न तल्लिन भएर खटिएको छ । कसैले पनि नसोचेको विपत्तिले छट्पटाएका छन्, अधिकाशं गाँऊ बस्ती ।

हरेक गाँउमा अघिपछिजस्तो कुनै उत्साह छैन यहाँ । सबैको अनुहार नैराश्यता र त्रासले गर्दा मलिन देखिन्छ । पलभरै हजारौं नागरिकहरु घरबारविहीन भएका छन । कति टुहुरा भएका छन् । गाँउबस्ती कुनै घरहरु हेर्न लायक छैनन् । घरभित्र कोही बस्न सकेका थिएनन् र छैनन् पनि । खुल्ला आकाश नै सबैको घर बन्न पुग्यो ।

बारीका पाटाहरु, समथर चौरहरु उनीहरुको श्वास फेर्ने थलो बन्यो । यही विपत्तिसँगै सिङ्गो देश नै छट्पाटाइ रहेको छ ।  भर्खरै मात्र देशले कोल्टे फेर्दै थियो । नागरिकहरु स्वतन्त्रता र शान्तिको श्वास फेर्दै थिए । सबैमा समृद्धि र विकासका आशाहरु पलाउँदै थियो । दश वर्षे जनयुद्धले विछिप्त भएको घाउहरु खाटा बसिसकेको थियो ।

द्वन्द्व पीडितहरुको वेदनाहरु मत्थर हुँदै थिए । देश संविधानको पर्खाइमा थियो । राष्ट्र समृद्धिको बाटोमा थियो । नयाँ वर्ष, नयाँ उमङ्ग र नयाँ संविधानको प्रतीक्षा गर्दै मनाइएको ११ औं लोकतन्त्र दिवस भइरहँदा अर्को विपत्ति आइलाग्यो । विनाशकारी महाभूकम्पको रुप लिएर आएको यो विपत्ति सबैमा पीडा दियो । सङ्लिदै गएको नेपालीहरुको मन धमिलो बनायो । गाँऊ बस्तीलाई शोकमा डुबाएर प्रकृतिले प्रकृतिकै सौन्दर्यता लुटिदियो ।

भूकम्पबाट सहर बजारको दाँजोमा गाउँबस्ती क्षतविक्षत भएको छ । केही दिन अघिसम्म सुन्दरबस्ती बसेको गाँऊका घरगोठहरु अहिले मसानघाट बनेको छ । सिङ्गो गाँऊ नै एउटा माटोको थुप्रोमा परणित हुँदा त्यो निर्दयी भूकम्पले हजारौैंको ज्यान लियो, लाखौंलाई हताहत पारीदियो, कत्तिको सहारा खोसिदियो । पीडामाथि झन् पीडा थपिदियो । भूकम्प गएसँगै परेको मुसलधारे पानीले जलेको मनलाई निभाउन सकेन झन् दर्द थपिदियो । भौगोलिक विकटतासँगै मौसम परिवर्तनका कारणले गर्दा दुर्गम गाउँका बासिन्दाहरु चिसो पानीमा रुझ्दै जीवन झिनो आशा लिएर बाँच्न विवश भए ।
भूकम्प गएको हप्ता दिन बित्दा सामान्य उपचारसमेत पाउन सकेनन् राहत त धेरै टाढा विषय रह्यो । गाउँका पीडितहरुलाई एकातिर उनीहरुलाई घरबास उठेको चोट, अर्कोतिर परिवार गुमाउनुको वियोग छ । त्यसमाथि हप्ता दिनसम्मको भोक र प्यासभित्र कसैले ओत लाग्ने सानो पाल ल्याइदेलाकी भन्ने झिनो आस लुकेको छ । सबैतिरबाट ठगिएका छन् । गाउँका भूकम्प पीडितहरु, विदेशी संघसंस्थाले दिएका राहतहरु पनि सहर नजिकका गाउँहरुमा मात्र पुगेको देखिन्छ । पीडितका नाममा आएको राहतमा राजनीतिको ठूलो प्रभाव देखिन्छ । दुर्गम गाँऊमा जान लागेको राहत सामग्रीहरु पनि बिच बाटोमा नै खासिने गरेको छ । त्यसैले छट्पटाइरहेका छन् गाउँबस्तीहरु ।
भूकम्पको धक्का कम हुँदै बजारहरु खुल्नुका साथै जनजीवन सामान्य बन्दै जाँदा गाउँमा भने झनझन् पीडा थपिँदै छ । गाउँलेहरुलाई गास, बास, कवासले पिरोलेको छ । घरबास छैन, बाहिरबाट हेर्दा ठाडो देखिएका घरहरु पनि चिराचिरा परेको छ । सामान्य मर्मत गरेर घरमा बस्नेहरु घरतिर फर्कंदै गर्दा साहरा नै माटोमा बिलाएकाहरुमा झनझन् तड्पिन थालेका छन् । उनीहरुसँग न बास छ, न गास छ ।
केही दिन अघिसम्म छिमेकीहरुको पालमा जिउ आतेकाहरु पीडितहरुलाई सँगै बसेका साथीहरु घर फर्कंदा उनीहरु झन् बेसहारा बन्न पुगेका छन । अब के खाने, कहाँ बस्ने भन्ने कुराले पिरोल्न थालेको छ । यतिबेला उनीहरुलाई गासभन्दा बास चाहिएको छ । भूकम्पको विपत्तिमा रुमलिएका गाँउबस्तीले भनिरहेको छ, ‘सरकार हामीलाई खानका लागि दाल र थाल होइन, शरीर ढाक्ने पाल देऊ ।

0 comments

Write Down Your Responses