दुई–अढाई लाखमै बन्छ सुरक्षित ‘नेपाली घर'

वैशाख २९ गते


७.३ रेक्टर स्केलको भूकम्पले धक्का दिइरहँदा घरभित्रै थिए। सपरिवार घरभित्र बसिरहेका बेला भूकम्पको ठूलो धक्काले यता लडाउला कि उता लडाउलाजस्तो भए पनि कसैलाई भय थिएन।

तराईका गाउँ–गाउँमा बनाइने ‘नेपाली घर' भूकम्पको ठूलो धक्का लाग्दा पनि सुरक्षितै छन्। आकर्षक देखिने तथा घरायसी सामग्रीको प्रयोगले बन्ने यस्ता ‘नेपाली घर'को अहिले खोजी भइरहेको छ। दाहाल बस्ने घर यही थियो, जुन घर भूकम्पका यतिधेरै धक्काले केही गर्न सकेको छैन।

‘ठूला धक्का आए पनि लडिहाल्ने र भत्किने डर छैन,' दाहाल भन्छन्, ‘भूकम्प आउला भनेर खुला ठाउँमा पाल टाँगेर बस्नुपर्ने बाध्यता पनि छैन।'

आर्थिक सम्पन्नतासँगै तराईमा अहिले यस्ता घर केही कम हुन थालेका छन्। मध्यमवर्गको हैसियत बन्नेवित्तिकै मानिसहरू पक्की संरचना निर्माणतिर अग्रसर छन्। तर ती पक्की संरचनाको भर हुन छोडेपछि ‘नेपाली घर'को महसुस चौतर्फी हुन थालेको छ।

सिनियर इञ्जिनियर उमेश ओझाका अनुसार हल्का र कम बजेटमै निर्माण गर्न सकिने यस्ता घरलाई भूकम्पको डर छैन। हल्का हुने हुनाले नोक्सान कम हुने र किचे पनि खासै ठूलो क्षति नहुने भएकाले यस्ता घरमा बस्न धेरै सुरक्षित हुन्छ।
‘यसको ठ्याक्कै नाम यही हो भन्ने चाहिँ हामीलाई जानकारी छैन,' ओझा भन्छन्, ‘तर तराईका परम्परागत नेपाली घर यिनै हुन्।' झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङका धेरैजसो समुदायमा यस्ता घर बनेका देखिन्छन्। तराईका अन्य जिल्लाका गाउँ–गाउँमा यस्ता घर प्रशस्त देखिन्छन्।

‘पहिले–पहिले सहरमा यस्तै घर थिए, अहिले पक्की घरले विस्तारै यस्ता घरलाई विस्थापित गर्न थालेको छ,' दाहाल भन्छन्, ‘पक्की संरचनाभन्दा यी घर दर्जनौं गुणा सुरक्षित छन्।' इञ्जिनियर ओझाका अनुसार यस्ता घर बस्नका निम्ति आरामदायीमात्र छैनन्, जस्तो साजसज्जा र आकारप्रकारले बनाउन सकिन्छ। यस्ता घर पक्कीको तुलनामा गर्मी मौसममा सितल मानिन्छन्।

यसरी बन्छ ‘नेपाली घर'

‘नेपाली घर' बनाउन त्यतिठूलो बजेट आवश्यक छैन। काठका खाँबा चारैतिर गाडेर जग उठाउन सकिन्छ। काठको सट्टा पक्की भुइँ निर्माण गरेर पिलरै उठाउन पनि सकिन्छ।

चारैतिर काठ वा पिलर गाडेपछि बीचबीचमा काठैले कोठाकोठा पारेर बाँकी रहेको भागमा बाँसका भाटा बुनेर टाल्न सकिन्छ। भाटाको टाटी बुनेको दुबैतिर सिमेन्टले प्लाष्टर गर्न सकिन्छ।

इच्छाअनुसार टाँडे अथवा भुइँतलामै सीमित पनि गर्न सकिन्छ। जस्तापाताले ढाकिने यस्ता घरमा गर्मीको डर भए सिलिङमा प्लाइले घेर्न पनि सकिन्छ।

यति गर्दा अहिलेको समयमा पनि हेरिहेरि दुई, अढाईदेखि चार लाख रूपैयाँसम्ममा एउटा आकर्षक घर निर्माण गर्न सकिने दाहालको भनाइ छ। यस्ता घर २०/२५ वर्षसम्म केही नहुने दाहालको भनाइ छ। मेहनत गरेर बनाउने हो भने ४०/५० वर्ष टिक्ने उनको दाबी छ। ‘यस्तै तरिकाले बनाएको मेरो घर पन्ध्र वर्षभइसक्यो केही भएको छैन,' दाहाल भन्छन्, ‘टाटीको गाह्रो हुने भएकाले लामो समय बितेपछि भत्किन सक्छ तर फेरि अर्को टाटी लगाएर पहिलेको जस्तै बनाउन सकिन्छ।'

पिलरको सट्टा काठकै खाँबा उठाएर घर बनाउनु परे सखुवा प्रयोग गर्दा उपयुक्त हुन्छ। सखुवाको काठ अन्य काठको तुलनामा बलियो हुने हुनाले हत्तपत्त केही पनि नहुने इञ्जिनियर ओझा बताउँछन्।

‘सेन्टरबेरा गरेर बनाएको घर भनिन्छ, तराईमा भएका नेपाली घरमा सखुवा काठ बढी प्रयोग गरिने गरिएको छ,' ओझा भन्छन्, ‘प्रोपर्टी लाइनभन्दा मुनीका जनताले यस्ता घर बनाइरहेकै छन्।' यस्ता घर निर्माण गर्न काठमात्र खोज्नुपर्छ, न रड, न इँटा। गाउँ–गाउँमा बाँस छन्, तिनै उपयोग गर्न सकिन्छ। जस्तापाता बजारमा प्रशस्ती पाइने हुनाले छानो हाल्न समस्या छैन।

पहिले–पहिले तराईमा टाँडे घर निर्माण गरिन्थ्यो। भुइँतला प्रयोग खासै गरिँदैनथ्यो। काठकै लिस्नो राखेर टाँडमाथि मात्र मान्छे बस्थे। पहिले–पहिले तराईमा चोरडाँकाको डर थियो, त्यसबाट सुरक्षित हुन मान्छे टाँडे घरलाई सुरक्षित मान्थे। भुइँ तलामा सर्प लाग्ने डरले पनि टाँडमाथि बस्ने चलन थियो।

पक्की घर सुरक्षित छैनन्

 विनाशकारी महाभूकम्पले त्यति ठूलो असर नगरे तापनि विराटनगरमा बनेका नयाँ तथा पुराना घर ढुक्कसँग बस्नका लागि सुरक्षित छैनन्। नेपाल इञ्जिनियर एशोसिएसन र विराटनगर उपमहानगरपालिकाका प्राविधिकको संयुक्त टोलीले भूकम्पपछिका घरको अवलोकन गर्दा यस्तो भेटाएको छ।

भवन आचारसंहिता ढिलो आउनु र त्यो संहितालाई कडाइसाथ लागू गर्न नसक्नु यसका मुख्य कमजोरी देखिएका छन्। अहिले उपमहानगरपालिकामा यतिवटा घर छन् र यी कहिले बनेका हुन् भन्ने तथ्यांकसमेत छैन।

दुबै संस्थाको संयुक्त भूकम्पपछिका घरको चेकजाँच भइरहेको छ। इञ्जिनियर भरत न्यौपानेका अनुसार पचास वटा घर निरीक्षण गर्दा ७ वटा घर बस्न नहुने भेटिएका छन्। अरू २० वटा घर मर्मत गरेरमात्र बस्न मिल्ने र बाँकी सामान्य चर्केका भेटिए।  ‘पिलरबिना इँटा र माटोले जोडेका घर छन्,' न्यौपाने भन्छन्, ‘यी घर समयमै विस्थापित गर्न नसक्ने हो भने जोखिम बढाउँछ।'
 विराटनगरको जनसंख्या २ लाख १ हजार १ सय २५ रहेको उपमहानगरपालिकाले जनाएको छ। यसको क्षेत्रफल ५८ दशमलव ४८ वर्गकिलोमिटर छ। यसमा ४५ हजारको हाराहारीमा घर रहेको अनुमान गरिएको छ।

सन् २०१४ मा उपमहानगरले सय वर्ष पुगेको उपलक्ष्यमा शतवार्षिकी मनाएको थियो। इञ्जिनियरहरूका अनुसार त्यैबेला निर्माण भएका घर अहिले पनि छन्, ती बस्न योग्य छैनन्। गत वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनले यस्ता घरलाई चिराचिरा पारिदिएका छन्।

तर पनि यी घर प्रयोग भइरहेकै छन्। ‘यस्ता घर भत्काउनुस् भनेर हामी सार्वजनिक अपिल गरिरहेका छौं,' न्यौपाने भन्छन्, ‘अबको सानोतिनो कम्पनमा यस्ता घर ध्वस्त हुने सम्भावना धेरै छ।'

 किन असुरक्षित? 

 २०४५ सालको भूकम्पपछि त्यतिबेलाको संसद्मा एउटा विधेयक पुगेको थियो – भवन आचारसंहिता लागू गराउने। उक्त विधेयक दस वर्षसम्म संसद्मै अडि्कयो।

 दस वर्ष बितेपछि बल्ल भवन संहिता विधेयक पास भयो। नेपालमा भवन संहिता लागू भएको २०६० मा हो। २०६० देखि बल्ल राजधानीमा भवन संहिता लागू गर्न सुरु गरिएको थियो।

 त्यो संहिता विराटनगर आइपुग्न १० वर्ष लाग्यो। २०७० सालमा बल्ल संहिता लागू भएको भनेर नगरपालिकाले घोषणा गरे कार्यान्वयन गर्न सकिएन। अहिले महाभूकम्प आएपछिमात्र संहिताले झस्काएको छ।

 वरिष्ठ इञ्जिनियर उमेश ओझाका अनुसार नेपाली समाजमा इञ्जिनियरलाई भन्दा ज्यामीलाई बढी विश्वास गर्ने चलन छ, त्यसैले सुरक्षित घर निर्माण हुन सकिरहेका छैनन्। ‘इञ्जिनियरलाई देखायो भने बढी फलाम प्रयोग गर्न लगाउँछ भनेर मिस्त्रीको भरमा घर निर्माण गर्छन्,' ओझा भन्छन्, ‘भवन संहिता लागू हुन पहिले व्यक्तिको सोचमा परिवर्तन आउन जरुरी छ।'

यहाँ बनेका अधिकांश घरका पिलरै अधुरा छन्। पिलर निर्माण गर्दा १२ एमएमको रड अनिवार्य चाहिन्छन्, ती पनि आठ वटा। तर ४ एमएमका चार वटा रडको भरमा पिलर निर्माण भएका छन्। बिम, दिवाल, भर्‍याङ कुनै पनि सुरक्षित तरिकाले निर्माण भएका छैनन्।

‘यसको मतलब हामी बस्ने घर सुरक्षित छैनन् भन्ने बुझ्न अबेर भइसकेको छ,' इञ्जिनियर न्यौपाने भन्छन्, ‘घर कति सुरक्षित छन् जाँचेरमात्र प्रयोग गर्दा राम्रो हुन्छ।'

विराटनगरमा अहिले वर्षेनी १५ सयदेखि २ हजारको हाराहारीमा घर निर्माण भइरहेका छन्। यी अधिकांश घर कमजोर फाउन्डेशनका छन्। वरिष्ठ इञ्जिनियर ओझा भन्छन्, ‘दुई तलेको फाउन्डेशन पनि एउटै, पाँच छ तले घरको फाउन्डेशन पनि एउटै छ, यस्तो घर कसरी सुरक्षित हुन्छ?' वर्षौं दुःख गरेर घर बनाउन अग्रसर हुने तर फलाम बढी प्रयोग गर्न नमान्ने प्रवृत्तिले सुरक्षित घर निर्माणमा बाधा पुगेको ओझा बताउँछन्।

 भत्केका छैनन्, तर सोच्नुस्

वैशाख १२ को महाभूकम्पको केन्द्रविन्दू आसपासका धेरै घर भत्किए। धेरै ठूलो क्षति गर्‍यो। ७.९ रेक्टर स्केलको भूकम्प जाँदा पनि यहाँका घर भत्किएनन्, चिरिएमात्र। कति चिरिएका छन्, कति बस्न अयोग्य छन् त्यसको लगत संकलन भइरहेको कार्यकारी अधिकृत गोपाल रेग्मी बताउँछन्।
सहरका मान्छेमा अहिले ‘सुरक्षितै रहेछौं हामी' भन्ने गलत भ्रम परेको इञ्जिनियर बताउँछन्। उनीहरूका भनाइमा भूकम्पको केन्द्रविन्दू धेरै टाढा भएका कारण यहाँ त्यति जोखिम भएन। तर आसपास केन्द्रविन्दू भएर जाने भूकम्पले यहाँका घर सोत्तर पार्नसक्ने सम्भावना औंल्याउँछन् इञ्जिनियर।

‘भूकम्पको केन्द्रविन्दू टाढा रहेकाले यहाँ क्षति कम भएको हो, हाम्रा घर बलिया भएर हो भन्ने भ्रम नपाले हुन्छ,' इञ्जिनियर न्यौपाने भन्छन्, ‘मापदण्डविपरीत बनेका घरलाई पुनःनिर्माण गर्न जरूरी छ।'

महाभूकम्पपछि उपमहानगरपालिकाले भवन संहितालाई कडाइ गर्न खोजेको छ। कार्यकारी अधिकृत रेग्मीका अनुसार अहिले राज्यले तोकेको भूकम्प प्रतिरोधक मापदण्ड पूरा गरेपछिमात्र घरको नक्सा पास गर्न थालिएको छ। ‘पहिले–पहिले धेरै कठीन भयो, नक्सा पास नगरीकनै घर बनाउन अग्रसर भए,' रेग्मी भन्छन्, ‘अब हामी यसबारे धेरै लामो छलफल गर्दैछौं, भूकम्प प्रतिरोधी घर निर्माण गर्न लागौं भन्दैछौं।'

0 comments

Write Down Your Responses