पाँच मंगलले यसरी निम्त्यायो अनिष्ट

२०७२ जेष्ठ ३ आईतवार
काठमाडौं : 'भूक्षय, भूस्कलन, भूकम्प आदि दैवीय स्थल तथा हवाई दुर्घटनाको संभावनालाई नकार्न सकिँदैन', पञ्चांग निर्णायक समिति नेपालले फागुनमै प्रकाशित गरेको २०७२ सालको पात्रोमा वार्षिक भविष्य फलमा लेखिएको छ, 'केही वर्षदेखि विद्यमान जलवायु परिवर्तनको कुप्रभावले तापक्रममा प्रतिकूलताले सबैतिर अशान्ति छाउला।'


'२०७२ साल मंगलबारबाट सुरू भएको छ। महिनामा पाँचवटा मंगलबार परेका छन्', समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले शनिबार अन्नपूर्णसँगको कुराकानीमा भने, 'वैशाख महिनामा पाँच मंगल, बुध र बिहीबार तथा सूर्यसंक्रान्ति मंगलबार परेको थियो। यो भनेको अनिष्ट हो।'

उनका अनुसार, यस वर्ष आकाशीय मन्त्रिमण्डलमा राजा शनि र मन्त्री मंगलमा बसेको छ। दुवै पाप ग्रहमा रहेकाले वर्ष नै अशुभ रहेको उनको भनाई छ। उनले पञ्चांगको निर्णयअनुसार वार्षिक भविष्य फल लेखिसकेको जानकारी दिँदै थपे, 'यो वर्ष जनताले दु:ख पाउने वर्षको रूपमा देखिन्छ।'

वैशाखजस्तै असार, भदौ र मंसिर महिना पनि मंगलबारबाट सुरू भएका छन्। यी महिनामा पाँचवटा मंगलबार परेका छन्। पञ्चांगले पात्रोमा लेखेको छ, 'पाँच मंगलले नराम्रो अवस्थाको संकेत गर्दछ।'

पात्रोमा वैशाखको मासफलमा लेखिएको छ, 'मंगलवासरीय संक्रान्तिले उच्च पदस्थ व्यक्तिलाई अनिष्टको प्रबलता देखिन्छ।' ज्योतिष परिषद् नेपालका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि फागुनमै २०७२ सालमा आइपर्ने सबै खालका विपत्ति र अनिष्टबारे प्रस्ट उल्लेख गरिएको बताए।

उनले भने, 'पहिले पात्रोकै आधारमा ग्रहदशा हेरिन्थ्यो र सोहीअनुसार तयारी पनि गरिन्थ्यो। तर अहिले मान्छे विज्ञान वा आधुनिकतातिर उन्मुख भएर होला पात्रो पल्टाउनै छोडेका छन्। त्यसबेला बृहद छलफलपछि भूकम्प, अतिवृष्टि, अनावृष्टिजस्ता दैवीय विपत्तिको कुरो पात्रोमा लेखिएको थियो।'

पात्रोमा लेखिनु ज्योतिषीहरूको आधिकारिकता हो भन्ने बुझ्न नसक्नु र सोअनुसार सरकारले सजगता अपनाउन नखोज्नुले अहिले लाखौं मानिसले दु:ख पाएको उनको भनाइ छ।

उनले नेपाल तपो र देव भूमि भएकाले भगवान् शिवको बासस्थान सगरमाथा र अन्य हिमश्रृंखलामा पनि दुनियाँलाई चढ्न दिनुले पनि अनिष्ट भएको तर्क गरे। 'यो महिनामा पनि पाँच मंगल र सूर्यसंक्रान्ति परेकाले अनिष्ट निम्त्याउने प्रबलता देखिन्छ।

पाँच बुध र बिहीले भने सुखद् वातावरण देखाउला', असार महिनाको मासफलमा पात्रोमा लेखिएको छ, 'उत्तरी र पश्चिमी भेगमा हुलचाल आदिले जनजीवन अस्तव्यस्त नबन्ला भन्न सकिदैन।' जेठको मासफलमा भने शैक्षिक जगत तनावपूर्ण वातावरण देखिने उल्लेख छ।

 भदौको मासफलमा पनि पाँच मंगल र सूर्यसंक्रान्ति भएकाले 'हवाई तथा सडक दुर्घटनालगायत दैवी विपत्तिहरूको सामना गराउला' भनी लेखिएको छ।

भदौ महिनामा संभावनाको संकेत पनि गरिएको छ, 'अनेकौं विकास निर्माणले विस्तारै गति लिएको अनुभव गराउला। पापीय क्रियाकलाप निरूत्साहित बन्दै जाला।

राजनीति सही दिशामा अग्रसर हुँदै गएको अनुभूति होला।' भदौको सुरू र अन्त्यतिर भारी वर्षात हुने र त्यसबाट कतै बाढी कतै पहिरोजस्ता उत्पातले जनजीवन अस्तव्यस्त हुने संभावना रहेको पनि उल्लेख छ।
ज्योतिषी विरेन्द्र नेपालले भने, 'सूर्यले नदेखेको पनि ग्रहले देख्छ।

 किनकि सूर्यको प्रकाशभन्दा ग्रहको दृष्टि धेरै हुन्छ। ग्रहको दृष्टिअनुसार दशा हेर्ने हो।' उनका अनुसार, राजा र मन्त्रीबीच समन्वयको कमीले राज्य सञ्चालनमा कतिपय राष्ट्रिय हितका निर्माण कार्य अधुरै रहँदा आर्थिक सन्तुलन स्थीर हुन सक्दैनन्। पात्रोको वार्षिक फलमा लेखिएकै छ, 'आवश्यकताभन्दा अहंमता प्रदर्शन गर्नाले राजनीतिक दलहरूप्रति निराशा छाउला।'

गणितीय ज्योतिषी हेमसागर ढुंगेलले गुरू अन्तर भएकाले अबका दिनमा भूकम्प लगायतका प्रकोपबाट त्यति खतरा नभएको बताए। 'मंगल र शनिमा बक्र दृष्टि छ छिटफुट ठाउँमा छिटफुट घटना हुन सक्छ', भूकम्पको पराकम्पनबारे संकेत गर्दै उनले थपे, 'केही समयसम्म मानिसमा मानसिक तनाव रहला तर दर्दनाक अवस्था पुन: निम्तिदैन।'

0 comments

Write Down Your Responses