राहत बोकेर प्रचण्ड सिन्धुपाल्चोक, बाबुराम गोरखा

२० बैशाख
काठमाडौं, महाभूकम्पमा परी आहत भएका नागरिकहरुलाई भेटेर सान्त्वना दिँदै, उनीहरुका समस्यालाई नजिकबाट आत्मसात गर्दै र तत्कालका निम्ति राहत प्रदान गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई जनताबीच पुगेका छन् ।
आइतबार एमाओवादी अध्यक्ष प्रचण्ड राहत वितरणका निम्ति सिन्धुपाल्चोक पुगेका छन् भने बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेका छन् । ठूलाखाले ६–७ ट्रकभरि दाल, चामललगायतका सामग्री लिएर अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको विकट, दुर्गम तथा भीमटार तथा बोडगाउँमा पुगेका छन् । उनले मेलम्ची अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट समेत गरेका छन् ।
बाबुराम भट्टराई पनि करिव त्यति नै राहत सामग्रीका साथ अपराह्न गोरखाको सदरमुकाम पुगे । अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता भट्टराईले जिल्लामा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरण गरिरहेका छन् ।
अध्यक्ष प्रचण्डले शनिबार पनि ललितपुरको हरिसिद्धि क्षेत्रका विकट तथा क्षतिग्रस्त स्थानहरुको निरीक्षण गरेर राहत वितरण गरेका थिए ।
महाभूकम्पबाट आहत नागरिकलाई उनीहरुकै घरआँगनमा पुगेर भेटघाट, सान्त्वना तथा राहत प्रदान गर्ने शीर्ष नेताहरु प्रचण्ड, बाबुराम र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मात्रै हुन् । जनताको तारो भइने त्रासका कारण अरु शीर्ष नेताहरु गाउँ जान सकेका छैनन् । यसअघि एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई जनताले लखेटिसकेका छन् ।

0 comments

Write Down Your Responses