‘नेताज्यू लौ हेर्नुस् दुखी अनुहार, कहिले फर्किन्छ मुस्कान ?’

शसस्त्र युद्धमा हुँदा तत्कालिन विद्रोही माओवादीले एउटा अभियान चलाएको थियो ‘पुराना सत्ताका सवै संरचना ध्वस्त गरी डाँडाबाट हेर्ने’ त्यही अभियान अन्र्तगत गाउविकास, नगरविकासका धेरै जसो संरचनामा बम विस्फोट भए । ‘भएका सम्पूर्ण संरचना भत्काएर डाँडाबाट हेर्ने र त्यसपछि पुरानो सत्ताको अन्त्य गरी नयाँ नेपाल बनाउने ।’


तर, अहिले माओवादीले ‘क्रान्तिकारी ढंगमा’ भत्काउने कसरत गर्नु परेन । भत्कानउँनका लागि कुनै सशस्त्र युद्ध गर्नु परेन । कुनै नेपाली दाजुभाईले अर्को नेपालीलाई घाँटी रेटेर मार्नु परेन । कुनै गाविस कार्यालय, जिल्ला विकास समति, प्रहरी चौकी र सेनाको ब्यारेकमा बम प्रहार गर्नु परेन । पुल चुँडाउँनु परेन । सबैसबै विनाशको ‘क्रान्ति’ भूकम्पले गरिदिएको छ । माओवादीले १२ वर्षमा गर्न नसकेको ‘क्रान्ति’ भूकम्पको केही झड्काले क्षणभरमै गरिदियो । माओवादीले भत्काउँन नसकेका थुप्रै विद्यालयहरुलाई भूकम्पले भत्कादिएको छ । धेरै शिक्षक र विद्यार्थीलाई मारिदिएको छ । त्यतिबेला माओवादीले पुल चुँडालेर फड्के बनाए, भवन भत्काएर टहरो बनाए, सडक भत्काएर गोरेटो बनाए । तर, अहिले त्यो सबै ‘सम्भव’ भएको छ । ‘भत्केको पुरानो नेपाल डाँडाबाट हेर्ने र नयाँ नेपाल बनाउने ।’
साँच्चै, अब हेर्नुस् प्रचण्ड कमरेड डाँडाबाट, अनि बनाउँनुस् सुन्दर र समृद्ध नेपाल । प्रचण्ड कामरेड मात्र हैन डेमोक्रयासीको नाम जपिरहने प्रधानमन्त्री सुशिल कोइरालाज्यू डेमोक्रयासिमा जनता रमाउँछन् । रोग भोग र शोकको चर्काे पीडाबाट गुज्र्रिदैनन् । कोइरालाज्यू हँसाउनुस यी दुखी अनुहारहरुलाई । यही हो तपाईका लागि सुन्दर मौका । हलिउडमा हिरो बन्ने चाहाना छोडेर राजनीतिमा आएको सार्थकता प्रमाणित गर्नुहोस् ।
केपी ओलीज्यू, समृद्ध नेपालको बखान तपाईका उखान टुक्कामै छन् । टुक्का मात्र हो की हेक्का पनि हो अग्नी परीक्षामा तपाई पनि उभिनु भएको छ । कसरी फेरी ठडिन्छन् सांस्कतिक धरोहर तपाईको प्रतिक्षामा रोइरहेका छन् । कहिले बन्छ फेरी धरहरा, जहाँ तपाई झेरी हुल सहित चड्ने मौका पाउनु हुन्छ ?
माओवादी सशस्त्र द्वन्द्वको घाऊ विसेक हुन नपाउँदै भूकम्पले त्यो भन्दा ठूलो घाऊ लगाएको छ, देशलाई, नागरिकमनलाई । माओवादी द्वन्द्वले देशलाई कति वर्ष पछाडि धकेल्यो ? त्यो अनुमान गर्न कठिन छ । र त्यस्तै, अहिलेको महाविनाशकारी भूकम्पले पनि । कुन बढी विनाशकारी हो, त्यो तुलना नगरौं । तर, विनाश भएको सत्यलाई स्विकार्न कसैलाई कठिन पर्दैन ।
माओवादी द्वन्द्वले देशमा गणतन्त्र आएको ‘माओवादी दावी’ छ । गणतन्त्रले के दियो, नागरिकलाई ? यो प्रश्नको जवाफ नआउँदै भूकम्पले देशलाई क्षतविक्षत बनायो । अब, भूकम्पले के दिन्छ ? बहश सुरु भएको छ ।
भूकम्पपछि नेपाललाई ‘जपान बनाउँने कि हाइटी’ भन्ने बहश पनि चुलिएको छ । तर, नेपाललाई न जापानजस्तो बनाउँन सकिन्छ, न हाईटी जस्तो हुन्छ नै । किनकि, जापान जस्तो विकसित मुलुक बनाउँनुसँग नेपालको भूगोल र परिवेश फरक छ । त्यस्तै, अविकसित हाइटी जस्तो पनि । नेपाल त नेपालै जस्तो सुन्दर र समृद्ध बनाउँन सकिन्छ । निश्चय नै हाम्रा नेताहरुको सोच र योजना देश र जनमुखि हुने हो अहिले भूकम्पीय विनाश सुन्दर नेपाल नेपालका लागि अवसर हुन सक्छ । जुन, ध्वशंपछि मात्रै बनाउँन सकिन्छ भन्ने विशाल भ्रमका संवाहक प्रचण्डले पनि बुझ्न सक्नु पर्दछ । हो, गर्ने नै हो भने गर्ने बेला आएको छ ।
विनाशकारी भूकम्पपछि सुन्दर एवं समृद्ध नेपाल निर्माणको अवसर भएको श्रीगणेश हुनु सकारात्मक कुरा हो । तर, भूकम्पविनाशको जगमा टेकेर राजनीति गर्ने मेलो समातेका छन्, नेताहरुले । विपदको घडीमा राष्ट्रिय सरकार निर्माणको चर्चा छ । र, सरकारको नेतृत्व कसले गर्ने भन्ने बढ्ता विवादका स्वरहरु सुनिन थालेको छ । साँच्चै, सबै राजनीतिक दलहरु देशमा परेको विपदको घडीमा एक भएर लागिपर्ने हो भने त्यो सकारात्मक कुरा हो । तर, मात्र सरकारको नेतृत्वका लागि यो बहश हो भने देशका लागि, राजनीतिक दलका लागि र तीनका नेताका लागि घातक हुनेछ । किनकि, देश र नागरिकका लागि परेको महाविपत्तिको घडीमा राजनीतिक दलका नेताहरुले प्रभावकारी भूमिका नखेलेको नागरिक आरोप छ । नागरिक नेताप्रति यतिधेरै आक्रोशित छन् कि, अहिले विपदको घडीमा नागरिकमन नबुझ्ने हो भने राजनीतिक दलको ‘विरासत’ गुम्ने खतरा छ । भत्काएर मात्रै नयाँ बनाउँन सकिन्छ भन्ने सोचका ‘अभियन्ता’ प्रचण्डले यसलाई सबैभन्दा बढी बुभ्mनु पर्दछ ।
अब सबै राजनीतिक दलले मुलुक निर्माणमा आफूलाई एकत्रित गर्नु पर्दछ । अल्पकालिन र दीर्घकालिन प्रभावकारी योजना बनाएर प्रभावकारी कार्यान्वायन गर्नु पर्दछ । ताक कि, तत्काल भूकम्पपीडामा छट्पटाईरहेकाहरुले गाँस र वास पाउन् । त्यसपछि हरवस्ती, हरगाउँ, हरबजार, हरशहरसुन्दर र शक्तिशाली हुन् ।

0 comments

Write Down Your Responses