भोली भूकम्प आउँछ भन्नेहरु हो तिमीहरुले थाहा पाउने भएको भए वैशाख १२ गते यतिका मान्छे किन मर्थे ?

जेठ २ गतेदेखि ५ गतेसम्म ठूलो भूकम्प आउँछ रे ! जताततै यही हल्ला छ अहिले । अब २ गते त आएन । ५ गते आउँछ भन्ने त्रास छ सबैमा । मैले नबुझेको कुरा के भने यदि यतिबेला, यतिगते, योबार भूकम्प आउँछ भन्ने थाहा हुनेले पहिल्यै किन भनेनन् वैशाख १२ गते भूकम्प आउँछ भनेर ।


विश्व विज्ञानमा धेरै अगाडि बढी सकेको छ । चन्द्रमामा पुगेर त्यहाँ बस्ती बसाउन सकिने कुरासमेत पत्ता लागे । थुप्रै प्रविधिको आविस्कार र विकास र थुप्रै कुराको नियन्त्रण गर्न सक्ने विधि तथा तरिकाहरु विकास गरे । चीनले ओलम्पीकमा आकाशबाट आएको पानीलाई अन्यन्त्र स्थान्तरण गरेर विश्वलाई देखायो । ब्रह्माण्डको उत्पत्तीको रहस्य खोतल्न वैज्ञानिकहरुले स्वीजरल्याण्डमा ठूलै प्रयास गरे र जारी पनि छ । क्लोनिङमार्फत मान्छेको दुरुस्तै अर्को मान्छे तयार पार्न सक्ने सुत्रपनि पत्ता लगाए । यि र यस्ता थुप्रै कुराहरु छन्, जुन वैज्ञानिक चमत्कारका कारण पत्ता लागेका छन् र परिवर्तन पनि भएका छन् ।
तर, यस्ता असम्भव कुराको विकास तथा परिवर्तन गर्न सक्ने ति वैज्ञानिकहरु भन्छन्, ‘भूकम्प कहिले आउँछ, कसरी आउँछ, कसरी रोकथाम गर्न सकिन्छ भन्नेबारे कुनै निश्कर्ष निकाल्न सकिदैन । यो त एउटा प्राकृतिक प्रकोप हो ।’
वास्तवमा भूकम्प भू गर्भीय गडबडीबाट आउने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाइ नै भूकम्प भनिन्छ । यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्यो भन्दासाना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ। अधिकांश विध्वंशक भूकम्पहरु भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ । जुन नितान्त प्राकृतिक हुन्छ ।
यस्तो कुरालाई पहिलेनै थाहा पाउन सकिदैन भनेर भूगर्भविद, वैज्ञानिक र अन्य ज्ञाताहरुले भनिसकेका छन् । तर, यसलाई लिएर आफू चर्चित हुन र अडकल बाजीका भरमा आज आउँछ, भोली आउँछ भन्नुको पछाडि लागेर हामी किन आफ्नो समय बरबाद पारिरहेका छौँ । हो, हिजो आयो, आज पनि आउँला, भोली पनि आउन सक्छ, कहिल्यै नआउन पनि सक्छ तर, हामी त्यसको कुनै पूर्वअनुमान गर्न सक्दैनौँ भन्ने जानकारहरुको भनाई छ । सक्छौँ त हामी त्यसबाट हुनसक्ने क्षतिबाट बच्न । त्यसका लागि हामीले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने, आफू भूकम्प के हो र के गर्ने भन्नेबारे जानकारी लिने, भूकम्पको संकेत आएपछि सुरक्षित स्थानमा बस्ने जस्ता कुराहरु गर्न सक्छौँ । जसका कारण भूकम्पबाट हुनसक्ने क्षतिबाट बच्न सक्छौँ हामी ।
हुन त म ज्यातिषशास्त जान्दिन नत वैज्ञानिक कुरा नै तर म एक नागरिकको हिसावले बोल्ल्दा यो म पक्कै सोच्छु र भन्छु कि, ‘हे भूकम्पको हल्ला फैलाउनेहरु हो, वैशाख ११ गते किन भनेनौँ भोली भूकमप आउँछ भनेर  अनि अहिले किन भन्दै छौँ आज आउँछ, भोली आउँछ, पर्सी आउँछ भनेर । किन त्रास छर्दै छौ जनतामा ? प्रकृतिक प्रकोपको कनेक्सन छ र तिमीहरुसँग ? खोई मैले नबुझेको हो कि, तिमीले नबुझेका हौँ ! भोली भूकम्प आएन भने के गछौँ तिमी ? मेरो अनुरोध यस्ता कुरालाई लिएर मानसिक रुपमा कोही कमजोर नबनौँ । आए सबैलाई आउँछ । भोलीका दिनमा हुनसक्ने बितत्तीप्रति सबै सचेत रहौँ तर, भोलीको नाममा डर छर्ने काम नगरौँ । हामी सबै मिलेर देश निर्माणमा जुटौँ, नयाँ नेपालको निर्माण गरौँ । कसले के भन्छ त्यसकोपछि नलागौँ ।

0 comments

Write Down Your Responses