बुधबार, जेठ २७,
प्रधानमन्त्री सुशील कोइरालाको एक सल्लाहकारले राजनीतिक भूमिका निर्वाह गर्न खोज्दा कोइरालाबाट निकै नराम्रोसँग खप्की खानुपरेको छ । एमाले अध्यक्ष केपी ओलीले सुशील कोइरालालाई बिदा गरी नयाँ राष्ट्रिय सरकार गठन हुनुपर्ने भनी सार्वजनिक रुपमै आफ्नो धारणा प्रस्तुत गर्नुभएपछि स्वयम् कोइरालामा भन्दा उहाँको वरिपरि बस्नेहरुमा ज्यादा छटपटी पैदा भयो । यसक्रममा अवैतानिक सल्लाहकार रहेकी मृदुला कोइरालाले सरकार बचाउनका लागि केपी ओलीलाई सम्झनुपर्ने ठानिन् र टेलिफोन गरी ओलीसँग भेटेका लागि समय मागिन् ।
त्यसरी प्रधानमन्त्रीकी सल्लाहकारले समय मागेपछि ओलीले समय दिन कञ्जुस्याइँ गर्नुभएन, गत साता आफ्नै निवास बालकोटमा मृदुलालाई बोलाएर उहाँले भेटवार्ता गर्नुभयो ।
मृदुलाले संविधान बनाएर सुशील दादाले तपाईँलाई पद हस्तान्तरण गर्न चाहेको बताएपछि ओलीले पनि आफ्नो धारणा स्पष्ट रुपमा राखिदिनुभयो । यदि प्रधानमन्त्री कोइराला संविधान बनाएरै पद त्याग गर्ने सोचमा रहनु भएको भए आफू संविधान बनाउन हरतरहले लागि पर्ने भनाइ ओलीले मृदुलासमक्ष राखिदिनु भएको थियो ।
ओलीसँग भेटिसकेपछि बालुवाटार फर्केर मृदुलाले केपीसँग भएका कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराइन् । संकटका बेला यसरी राजनीतिक भूमिका निर्वाह गरेकोले सुशील कोइरालाबाट ठूलो स्याबासी पाउने अपेक्षा मृदुलाले राखेकी थिइन् । तर प्रधानमन्त्री उल्टै जंगिए । तिमीलाई कस्ले पठाएर ओलीसँग भेट गर्न गएको भनी प्रधानमन्त्रीले रिसाएर प्रश्न गरेपछि मृदुला रातोपिरो भइन् ।
उनीमाथि प्रधानमन्त्रीले नचाहिँदो काम गरेको आरोप लगाए । त्यसै पनि आफ्ना वरिपरिकाहरुबाट उपेक्षा र अपमान व्यहोर्दै आएकी मृदुलालाई सबैका अघिल्तिर प्रधानमन्त्रीले हप्काएपछि मृदुलाले निकै चित्त दुःखाएकी छिन्, तर आफूलाई चित्त दुःखेको कुरा बिसाउने ठाउँ नपाएर मृदुला यतिबेला थप दुःखी बनेकी छिन् । घटना र विचार साप्ताहिकबाट
नचाहिँदो काम गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले हप्काएपछि मृदुला रातोपिरो
0 comments
Write Down Your Responses