हिन्दू राष्ट्र नभए धर्मयुद्ध हुने खुमबहादुरको चेतावनी

२१ असार, काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्काले धर्मनिरपेक्षता हटाएर सनातन हिन्दू राष्ट्र स्थापना नभए आफूहरू धार्मिक युद्धमा होमिने बताएका छन् ।
आजको नयाँ पत्रिका दैनिकाम खबर छ सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक खड्काले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी सरकार र ठूला दलले मुलुकमा धार्मिक युद्ध चाहेको पनि आरोप लगाए ।
सनातन हिन्दू राष्ट्र कायम गर्न जस्तोसुकै बलिदान गर्न पनि आफू तयार रहेको उनको भनाइ थियो । ‘८० प्रतिशत जनता हिन्दू धर्म मान्ने भएको देशमा धर्मनिरपेक्षता हुनै सक्दैन,’ खड्काले भने, ‘धर्मनिरपेक्षता हटाएर सनातन हिन्दू राष्ट्र स्थापना नभए हामी धार्मिक युद्धमा होमिन्छौँ ।’
कांग्रेसले राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, समाजवाद बिर्संदै गएकोमा चिन्ता व्यक्त गर्दै खड्काले ९४ प्रतिशत ओमकार परिवार रहेको मुलुकमा धर्मनिरपेक्षता लाद्न खोज्नु जनमतको अपमान भएको दाबी गरे ।
खड्काले लोकतन्त्र र कानुनी राज्यको वकालत गर्दै आएको कांग्रेसले सर्वोच्च अदालतको आदेश नमानेकोमा आफू आश्चर्यमा परेको बताए । उनले कम्युनिस्टहरूको लहैलहैमा लागेर नेतृत्व तहमा बसेका नेताहरूले कांग्रेसलाई कम्युनिस्टहरूको पुच्छर बनाएको आरोप लगाए ।
धर्मनिरपेक्षताले धार्मिक द्वन्द्व हुने, सत्ता कम्युनिस्टको हातमा जाने र भविष्यमा देश पनि नरहने खड्काको दाबी थियो । पत्रकार सम्मेलनमा कांग्रेस नेताहरू लक्ष्मणप्रसाद घिमिरे, तारानाथ रानाभाट, शंकर भण्डारी, मोहन बस्नेत, पुष्पा भुसाल र देवप्रकाश त्रिपाठीलगायतको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses