म शहरमा ‘मामा’ खोज्दैछु

पार्वती थापा


शान्तिनगरको सान्तोना गल्लीभित्रको एउटा चिसो र अध्यारो कोठा । दिनको तीन बजेको हुँदो हो । मनमा हजार पिडा । हजारौ तर्क तर उपाय नास्ती । पिडा कम गर्ने अनेक उपाय खोजे । सकिन । वाल्टिनबाट झिकेर आधा जग पानी कलकल पिएँ । लामो स्वास ताने र फेरि ढल्किएँ मैलो तन्नामाथि ।
मोबाईलमा रिङ्टोन बज्यो । तिरिरी मुरली बज्यो बनैमा, मनैमा लौ माया नमारे । सेभ नगरेको नम्वर । ४२ को लाईनबाट आयो फोन । रिसिभ गरें ।
‘नमस्ते विमलाजी’ केटीको स्वर ।
‘नमस्ते, तर मैले चिनिनँ नि !’
‘म हाम्रो टेलिभिजनबाट । तपाईले जब एप्लीकेशन दिनु भएको रहेछ । सर्ट लिस्टमा नाम निस्किएको छ । भोलि विहान १० वजे अन्तरवार्ताको लागि आउनुहोला भनेर ।’
‘ए……….. हुन्छ हजुर ….. हवस् ….’
फोन उतैबाट राखियो ।
एकैक्षणमा मेरो शरीरभरी विल्कुल नयाँ रगत भरियो– उत्साहको । मेरो धोको पूरा हुने भो । सर्ट लिस्टमा नाम निस्किएछ । अब जागिर खाईने भो, टि.भी.मा । मेरो सपना पूरा हुने भो । कस्ले भन्छ मलाई अभागी ! नहुन्जेल नहुने त हो भएपछि भै हाल्छ नि । यस्तो लाग्यो सपनाको कम्पाउण्ड गेट उघ्रियो ।
तुलबुल चुलबुल र उत्साही मन । एकैचोटि टेलिभिजन लोगो राखिएको माईक्रोफोन मेरो हातमा छ । प्रत्यक्ष प्रशारण गर्दैछु, कल्पनामा ।
फुरुङग मन लिएर स्टोभमा सिल्भरे ताप्के बसालेँ । चिया पकाउन । चिनी निकै कम रहेछ । पानी घटाएँ र चियासँगै अनेकौ तर्क खेल्न थाले । सोच्दै सपनाका अनेक तानाबाना बुनिरहेँ । साँझको ६ बजेछ । माघको महिना झमक्क रात परिसकेछ । भोकको तलतल लाग्यो । ¥याक घर्रा उघारेँ– एउटा पनि चाउचाउको कुपन बाँकी रहेनछ र पनि मलाई खासै पिर छैन तर व्यग्र उत्साहले मलाई निदाउन दिने छैन । यसका लागि म पाथिभरा होटल गएँ । जहाँ मेरो उधारो बाँकी थिएन । एउटा तोङ्वामा दुई गिलास कोदोको मिसाएँ र कसैले नदेख्ने कुनामा बसी खाएँ । पाँचवटा सूर्य चुरोट बगलीमा राख्दै ‘यसको भोलि दिन्छु है’ भन्दै प्रतिक्रिया नै नसुनी बाहिरिएँ ।
भोलिपल्ट, पछिल्लो समयमा आज नै हो म धेरै खुसी भएको । सदाभन्दा चाँडै उठेँ । जाँगरका साथ फ्रेस भएँ । चिया पकाउन ताप्के बसालेपछि याद भयो चिनी छैन । महेन्द्रदाइको पसलमा गएर बिन्ती बिसाएँ । अव ढिलो नगर्ने वाचा गर्दै आधा किलो चिनी, एक किलो चामल, एक पाउ भटमासको मस्यौरा उधारो ल्याएँ ।
टाउको पखालेँ । कपाल पनि बिग्रेको छ । नङ हेरेँ । नङ पनि लामो र मैलो छ । कपाल काट्न चाहेर पनि सक्दिन । नेलकटर पनि छैन । ओठमा लगाउने लाली, अनुहारमा लगाउने क्रिम त विर्सि पनि सकेकी थिएँ । अघि महेन्द्रदाइ कहाँ गएर साबुन र स्याम्पू ल्याए । नुहाएर अन्तर्वाता दिन जाने तयारी गरेँ । टावेल मैलो भएपनि त्यसैले मुख र कपाल पुछेँ । धेरै अघिदेखिको अमलाको वास्ना आउने तेल लगाउने सपना पुरा भएको छैन । घरबाट मसिको भाँडोमा ल्याएको तोरीको तेल पनि सकिएछ । तेलको भाँडोको पिँधमा पुतलीहरु मरिराखेका रहेछन् । कपाल फुस्रो छोड्नुभन्दा भटमासकै तेल लगाउनु वेस लाग्यो ।
भात र मस्यौराको तरकारी पकाएँ । तर मिठो भएन । मसला नहालेको तिउन के मिठो हुनु ? फेरि अन्तरवार्ता दिन जाने दिन भएर पनि होला ।
पाईन्ट लगाएँ । बटम खुस्केको पाईन्टलाई वेल्टले कसेँ । मैलो भनेर राखेको टिसर्ट सुकिलो नै लाग्यो । पुरानो जुत्ता । सोल प्वाल परेर मसिना ढुङ्गा र बालुवाहरु भित्र छिर्छन् तर देख्नलाई ठिकै छ । जाडो छ । ज्याकेट त लगाउनै प¥यो । यसपालि मैले ज्याकेट किनिनँ वा सकिनँ । उध्रेको ठाउँमा स्टीकर टाँसेकी छु– देख्दै थोत्रो र पुरानो । रुम पार्टनर साथी नविनाको ज्याकेट लगाई हेरँे । लेदरको ज्याकेट अलि ठूलो लाग्यो । मेरो ज्यान र अन्य पहिरनसँग म्याच नभएजस्तो । तैपनि मसँग जाडो छेल्न र परिस्थिति सुहाँउदो त्यही नै निर्विकल्प थियो ।
चिटिक्क परेर बाहिर निस्किएँ । बेग्लै लागिरह्यो मनमा । भित्रभित्रै खुशी थिएँ । ‘अन्तरवार्ता दिन हिँडेको’ ।
‘हिरोइन पल्टेर कता ?’ महेन्द्र दाइले सोध्नुभयो ।
‘कता हो नानी’ ? मोटे चिया पसलेले सोध्यो ।
‘घुमघाम त हो नि’ यही हो मेरो उत्तर । कस्मेटिक पसलकी दिदीले पनि हेरी । म मुस्कुराएँ । बाटामा भेटिने कलेज गर्लहरुको आँखा पनि मैमाथि थियो । मुसुमुसु हाँस्दै हिँडिरहेँ । कताकता अर्ड पनि लागिरहेको थियो । कतै कमेडी पात्र त बनिरहेको छैन । तैपनि मान्छेहरुको आखाँ मैमाथि थियो । मलाई त ‘म जुजुमान’ कथाको याद आयो । फेरी एउटा चिनेजानेकै दिदिको ब्यूटिपार्लरमा छिरेँ । कपाल त मिलेकै थियो तैपनि मिलाएँ । पुरै ज्यान ऐना अगाडि पु¥याएँ । भित्रको टिसर्ट उल्टो लगाएछु । भित्रभित्रै खङ्ग्रङ् भएँ । मान्छेहरुको आँखा ममाथि पर्नुको कारण पत्ता लगाएँ । त्यो मलाई  साईड हान्ने केटोको हेराई र मुस्कानको चित्र सम्झेँ । हत्त न पत्त शैलुनभित्रै टिसर्ट सुल्टो बनाएँ । त्यहाँ नै पो देखियो– स्प्रे नगरेर सेतो देखिएको लेदर ज्याकेटको पिठमा पानीले ज्याकेटको ढुसी पुछेँ ।
‘महेन्द्र दाइ र चिया पसलेले किन मेरो टिसर्ट उल्टो छ भनेर भनेनन् ?’
थापागाउँ, अनामनगर हुँदै रत्नपार्क पुगेँ । शान्तिबाटिका पार्कमा उभिएर एक छिन टोलाएँ । र, लागे जमलतर्फ अर्थात् ‘हाम्रो’ टेलिभिजनको अफिसतर्फ ।
अफिसको गेटमा पुगेर एकैछिन अडिएँ । गार्डले कस्लाई भेट्न आउनुभा भनेर सोध्यो । इन्टरभ्यू दिन’ मैले भनेँ । यहाँबाट गएर देव्रेपट्टि जानोस् अनि रिसेप्सनमा गएर सोध्नुहोस् भन्दै गार्डले भित्र छिरायो ।
कतै चाईने भन्दा बढता छिटो हिँडे कि ? आफ्नो हिडाई शैली अनुमान गरेँ । स्वाभाविक बन्ने कोशिस गर्दै रिसेप्सनसम्म पुगँे ।
‘के को लागि होला ?’ रिसेप्सनिष्टले सोधी ।
‘अन्तरवार्ताको लागि बोलाउनुभएको थियो त्यसैले’
यतावाट सिधै अगाडि गएर दाईने पट्टि जानुस् । म त्यतै लागँे ।
भित्तामा टासिएको सूचना हेरेँ । १५÷२० जना युवा युवतीहरु । त्यही टाँसिएको रहेछ सर्ट लिस्टका नामहरु । मैले पनि हेरँे । मेरो नाम दोस्रो स्थानमा रहेछ । खुशी लाग्यो ।
‘हेलो विमलाजी’ एउटाले बोलायो ।
‘हेलो,’ भने त्यो विकास रहेछ ।
विकास, ऊ मेरो क्याम्पस लेभलको क्लासमेट साथी हो । आईए र वीए हामीले सँगै पास ग¥यौं पत्रकारितामा । ऊ क्लासको कमजोर विद्यार्थी थियो । म भने सिपालुमा पर्थे । नामको अल्फावेट मिल्ने भएकोले जाँचमा पनि ऊ र म सधैं सँगै पथ्र्यौं । म उसलाई सिकाउँथे । मेरो नोटकपि दिन्थेँ । उसलाई मैले धेरै हेल्प गरेकी थिएँ ।
‘तपाईले पनि एप्लिकेशन दिनुभएको थियो ?’ उसले सोध्यो ।
‘अँ दिएकी थिएँ । सर्ट लिस्टमा नाम निक्लिएछ । तपाइँले पनि ।’
‘अँ मेरो त इन्टरभ्यू भईसक्यो ।’
‘के सोध्यो ?’
‘खासै केही सोधेन । सामान्य कुरा । अन्तरवार्ता लिने त मेरै मामा के सोध्नु ?’
‘ए तपाइँको मामा  ? मेरो पनि नाम निकाल्नुपर्छ है ।’
‘भै हाल्छ नि, किन नहुनु ?’
यस्तै–यस्तै गफगाफ हुँदै थियो । अन्तरवार्ता दिने मेरो पालो आयो ।
वरिपरि चारजना मान्छेहरु । दुईजना त मैले अरु नै टिभिमा देखेका मान्छे । अरु दुईजना पनि कहीँ देखेँ–देखेँ जस्तो लाग्यो ।
‘न्यूज के हो ?’
‘समाचारका तत्व र गुणहरु ।’
‘राम्रो रिपोर्टरका लागी चाहिने गुणहरु ।’
‘टेलिभिजन फिचर के हो ?’
‘विकास पत्रकारिता के हो ?’
‘कुन विट ?’
आदि–आदि प्रश्नहरु । मैले सबै आत्मविश्वासका साथ उत्तर दिएँ ।
अन्तिममा एकजना मोटे÷मोटे, पहिले कतै देखेजस्तो लाग्ने मान्छेले ‘गुड लक’ भन्यो । मैले ‘थ्याङ्क यू’ भनेर वाहिरिएँ ।
‘रिजल्ट कहिले हुन्छ सर ?’– शनिवार ।
सबै प्रश्नहरुको आत्मविश्वासका साथ जवाफ दिएँ । थाहा छैन, आउँदैन भन्न परेन । म नाम निस्कनेमा विश्वस्त थिएँ । झनै उत्साह थोपरियो मनमा ।
बाहिर निस्किएर विकाससँग चिया खाएँ । मेरो नाम निकाल्न उसको मामालाई भन्न अनुरोध गरेँ र उसैसँग पचास रुपैंया सापट मागेर उही शान्तिनगरको कोठामा आएँ ।
लेदर ज्याकेट फुकालेँ । एकछिन ज्याकेटलाई नियालेँ र ढलेँ उही ओच्छ्यानमाथि । दिर्घ श्वास तान्दै सुतेँ सपनाको खाताहरु खोल्दै ।
म शनिवारको प्रतिक्षामा थिएँ । कुनै चोकमा घण्टौं साथी कुर्नभन्दा कठिन थियो मेरो लागि शनिवारको प्रतिक्षा । बरु साथी ढाँटेर नआउन सक्थ्यो तर शनिवार नआएर कहाँ जानु ? आयो ।
म सिधै सूचनापार्टी छेउ गएँ ।
अनुराधा कोईराला– समाचार वाचिका
विकास थापा– संवाददाता
प्रतिक अधिकारी– संवाददाता
लक्ष्मण शाक्य– संवाददाता
तर, मेरो नाम लिस्टमा रहेन छ । चैतको हावा चलेपछिको सालघारी भएँ म ।
फर्कनै लाग्दा विकासलाई भेटेँ ।
‘ल बधाई छ ।’
‘तिम्रो नाम निस्केन छ ?’
‘अहँ, मलाई हतार छ, म जान्छु ।’
मैले एकपल्ट मेरो मामालाई सम्झेँ । सायद मेरो मामा पल्लो वारीमा डल्ला फोर्दै हुनुहुन्छ यतिवेला ।
जागिर नमिलेको सूचिमा अर्को एउटा ऐजन थपियो । र पनि म निराश छैन । सायद पानी उनान्सय डिग्रीमा पुग्यो, अव एक डिग्री बाँकी छ उम्लन । सोचेँ म सपना साकार हुने ठाउँमा पुग्न एउटा सिंढी उक्लें ।
पाठकवृन्द म एकदिन जागिर मिलेपछिको अनुभूति लिएर आउने छु, प्रतिक्षा गर्नुहोस् । अहिलेलाई यति ।

0 comments

Write Down Your Responses