वैदेशिक रोजगारीमा ठगिएका नेपाली भन्छन्-‘नेपालका सबै म्यानपावर बन्द हुनुपर्छ’

२०७२ असार २५ गते


झापा, २५ असार । फ्रि भिषा, फ्रि टिकटको विरोध गर्दै सडकमा उत्रिएका म्यानपावर व्यवसायी समस्या एकातिर भएपनि अर्कातिर आन्दोलन थालेका छन् । राज्यमन्त्रीले ७ वटा देशमा फ्रि भिषा फ्रि टिकटको अवधारणा ल्याएपछि म्यानपावर व्यवसायी विरोधमा उत्रिएका हुन् ।
असार २१ गतेदेखि लागू हुने भनिएपछि आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायीले समस्या बनाएका पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न थालेका छन् । शिवसताक्षी–३ का होमबहादुर खड्का १ लाख ६० हजार तिरेर मलेसिया पुगे । दलालमार्फत् काठमाडौंको एक म्यानपावरबाट मलेसिया पुगेका खड्का ६ महिना बसेपनि एक महिना मात्र काम गरे । धरमपुरका शुक्र राईले खड्का परिवारबाट १ लाख ६० हजार लिएको बुझिएको छ । म्यानपावरले १२०० रिंगिट दिने सहमति गरेर उनलाई मलेसिया पुर्याए पनि सहमतिको आधा मात्र उनले पाए । ६०० रिंगिटमा एक महिना काम गरेका खड्काले बाँकी समय बिताउन सकेनन् । काम गर्दागर्दै बेहोस भएपछि उनलाई नेपाल फर्कनुपर्ने अवस्था आइपर्यो । गाउँमा खेती किसान गर्ने परिवारले ऋण खोजेर छोरालाई विदेश पठाएको ६ महिनापछि छोराको ज्यान जोगाउन नै समस्या भएको बुबा प्रेमबहादुर खड्का बताउँछन् । ऋण खोजेर छोरालाई फर्काउनुपर्यो ।
फर्निचरको काममा लगिए पनि मार्बल फ्याक्ट्रीमा लगाइएको रहेछ । ब्याजमा ऋण खोजेर पठाएको पैसा तिर्न त कता हो कता, छोरा फर्काउन पनि गाउँमा सरसापट खोजेर ९० हजार पठाउनु पर्यो, उनका बुबा भन्छन् । ६ महिना बस्दा ५ महिना बिरामी भएरै बित्यो । कम्पनीले कसैलाई खबर पनि नगरेको पीडित परिवारको भनाइ छ । ३ वर्षको उल्टै ९० हजार लेबी तिरेर मात्र खड्का परिवारले छोरा फिर्ता बोलाउन पाए ।
यता गरामनी–६ का डिकबहादुर खड्काले पैसा बुझाएको ७ महिना बित्दा पनि उड्न पाएका छैनन् । बिर्तामोडस्थित हमिदा म्यानपावर प्रालिका प्रविन राउतले १ लाख २५ हजार रुपैयाँ बुझेपछि अहिले सम्पर्कमा नभएको बताइएको छ । साउदी अरब लैजाने भन्दै उनीबाट २५ हजार नगद र १ लाख रुपैयाँको चेक हमिदाका बिर्तामोड शाखा प्रमुख राउतले लिएका थिए । ‘म्यानपावर धाएको ७ महिना बित्यो,’ डिकबहादुर भन्छन्–‘पैसा लिने मान्छेलाई म्यानपावरमा भेटिँदैन ।’ म्यानपावरमा बस्ने कर्मचारीले राउत सर बाहिर गएको मात्र प्रतिक्रिया दिने गरेको खड्काको भनाइ छ । उनको पासपोर्ट समेत म्यानपावरले नै राखेको छ ।
बिर्तामोड–५ का एक पीडित ८ महिनादेखि ऋण लिएको ब्याज मात्र बुझाइरहेका छन् । उनले जानकी ओभरसिजका प्रविण राउतलाई १ लाख ५० हजार बुझाएको बताएका छन् । राउतले पीडितलाई दुई पटक कागज गराइसकेका छन् । ८ महिनाअघि पैसा बुझे पनि पीडितसँग राउतको भेटघाट छैन ।
यसैगरी पपुवा न्यूगिनी पुर्याउने भन्दै बिर्तामोडका पंकज लामिछानेले १६ लाख लिएको वर्षौं बितिसक्यो । बिर्तामोडस्थित विकास श्रेष्ठ, सन्तोष श्रेष्ठ र मिन राजवंशीको १६ लाखको अत्तोपत्तो छैन । पपुवा न्यूगिनीको थ्रीस्टार होटलमा काम लगाइदिने, मासिक १ लाख ५० हजार तलबको व्यवस्था गर्ने कबुल गरे पनि लामिछानेले उनीहरुलाई अहिलेसम्म पठाउन सकेका छैनन् । कहिले काठमाडौंबाट त कहिले मुम्बईबाट उडाउने भन्दै ३ वर्ष बितिसकेको छ । मुम्बईबाट फर्कने क्रममा पीडितहरुको आँखा छलेर टे«नबाटै लामिछाने भागेका थिए ।
यसरी म्यानपावरबाट ठगिनेको संख्या वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बराबर छ । नेपालबाट दैनिक १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् । चारपानेका भुकलाल राजवंशी २ वर्षअघि कतारबाट करार समय सकिनुभन्दा अगाडि नै फर्किए । फिनिसिङ कार्पेन्टरमा भनेर लगे पनि सटरिङ कार्पेन्टरमा खटाएपछि उनले काम गर्न नसक्ने भन्दै फर्किए । १२०० तलब तोकिए पनि १०० घटाएरै उनले पाए । काठमाडौंको डीजे म्यानपावरबाट वैदेशिक रोजगारमा गएका राजवंशी म्यानपावरहरुले सर्वसाधारणलाई हदैसम्म ठगी गर्ने गरेको बताउँछन् ।
गरामनी–९ का चण्डी राईको दुःख पनि यस्तै छ । २०१० मा दुबई गएका राई प्लम्बरमा गए पनि गार्डेनको हेरचाह गर्नुपर्ने काममा खट्नुपर्यो । उनले वैदेशिक रोजगारीको दर्दनाक पीडालाई सम्झँदै भने–‘बिरामी हुँदा हेरचाह भएन । बसाई अत्यन्तै फोहोर ठाउँमा, खाना पनि सडेगलेको मात्रै ।’ वैदेशिक रोजगारीमा पुगेकाहरु पनि विभिन्न समस्या सहँदै बस्नुपरेको अवस्था छ । रोजगारका लागि जाँदा लिएको ऋण तिर्नलाई जस्तोसुकै समस्यालाई पनि सामना गर्नुपर्ने बाध्यता रहेको दुबई पुगेका एक झापाली बताउँछन् । म्यानपावरबाट ठगिएका पीडितहरु यतिबेला एकाएक आफ्नो समस्याबारे सार्वजनिक हुँदैछन् ।
उनीहरुले म्यानपावर व्यवसायीको आन्दोलनको कुनै अर्थ नरहेको बताउँछन् । उनीहरु भन्छन्–राज्यले जनतालाई सुविधा दिन ल्याएको नयाँ अवधारणा म्यानपावर व्यवसायीलाई किन टाउको दुखाई भो ?
यता म्यानपावर व्यवसायीहरु भने श्रम राज्यमन्त्रीले एक्लौटी ढंगबाट गरेको निर्णय मान्य नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
राज्यको नीति मान्नुपर्छ
प्रवासी नेपाली झापाका संयोजक मदन आचार्यले सरकारले गरेको निर्णय म्यानपावर व्यवसायीले मान्नुपर्ने बताएका छन् । उनले राज्यको नीति विपरित म्यानपावर व्यवसायीले काम गर्न नहुने बताए । नीतिको विरोध गर्नु व्यक्तिवादी चिन्तन भएकाले फ्रि भिषा, फ्रि टिकट श्रमिकको हितमा भएको भन्दै लागू गर्नुपर्ने उनको भनाइ छ । ‘देशभरका सर्वसाधारणका लागि गरेको निर्णय हो, म्यानपावर व्यवसायीले नमानेर हुँदैन’, आचार्य भन्छन् ।
वैदेशिक रोजगारमा जानु भन्दा अगाडि श्रमिकलाई सहजीकरण गर्दै आएको प्रवासी नेपाली समन्वय समिति समस्यामा परेका व्यक्तिको न्यायका लागि राज्यका विभिन्न निकायसँग सहकार्य गर्दै आइरहेको छ ।
निर्णय स्वागतयोग्य
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष भानु शिवाकोटीले वैदेशिक रोजगारीको सन्दर्भमा सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताउँछन् । स्वागतयोग्य भएपनि कार्यान्वयन गर्न नसक्ने उनको भनाइ छ । ‘एकपक्षीय निर्णय भएकाले कार्यान्वयन गर्ने अवस्था छैन’, शिवाकोटी भन्छन्–‘सिस्टमेटिक भएन, व्यवसायीको लाखौं डुबेको छ ।’
उनले सर्वसाधारणलाई इजाजत प्राप्त पूर्वाधार सम्पन्न म्यानपावरबाट मात्र वैदेशिक रोजगारमा जान सुझाव दिएका छन् । ‘डुप्लिकेट म्यानपावरबाट नठगिए कहाँबाट ठगिनु’, उनले आक्रोशित हुँदै भने–‘राम्रो ठाउँमा जान, सहमति भएको काम र तलब पाउन त राम्रै म्यानपावरबाट जानु पर्छ ।’ उनले समस्यामा परेका पीडितहरुलाई सरकारका विभिन्न निकायसम्म जान सुझाए ।
‘प्रमाण लिएर आउनुस्, कारबाही गर्छौं’
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले वैदेशिक रोजगारका क्रममा ठगिएका पीडितहरुलाई प्रमाणसहित सम्बन्धित निकायमा पुग्न सुझाव दिएका छन् । उनले वैदेशिक रोजगारको क्रममा ठग्नेलाई वैदेशिक रोजगार विभागमार्फत् तुरुन्तै कारबाही गर्ने जानकारी दिए । उनले पीडितलाई प्रमाणसहित श्रम कार्यालय, जिल्ला प्रशासनसहित वैदेशिक रोजगार विभागमा पुग्न भनेका छन् । ‘हदैसम्मको कारबाही गर्छौं, तर प्रमाण लिएर आउनुपर्छ’,प्रजिअ पौडेलले भने ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses