बाबुरामले भने– माओवादी हुँ भन्दा शिर निहुराउनु पर्ने अवस्था आयो

काठमाडौँ ,२० असार ।


एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईबीचको विवाद केहि महिनायता साम्य भएको भएपनि फेरि बल्झिएको छ । विराटनगर राष्ट्रिय सम्मेलनअघि देखि नै सुरु भएको प्रचण्ड र बाबुरामबीचको विवाद त्यसपछि उत्कर्षमा पुगेकोमा केहि महिना यता भने साम्य भएको थियो । दुई नेताबीच आगामी माघ महिनाभित्र विषेश महाधिवेशन बोलाई त्यसबाट प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने गत मंसिरमा भद्र सहमति भएसँगै विवाद साम्य भएको हो । त्यतिबेला दुई पक्षले देशभर समानान्तर संगठन बनाउने कार्यलाई समेत तीब्रता दिएका थिए भने संस्थापनले भट्टराई पक्षीय केहि नेतालाई कारबाही समेत गरेको थियो । तर, मंसिरको सहमति सँगै एक ठाउँमा रहँदै आएका नेताहरुले फेरि छुट्छुट्टै प्रशिक्षण थालेका हुन् । भट्टराई पक्षले आज काठमाडौं जिल्ला समितिको प्रशिक्षण गरेको छ भने सोहि जिल्लाको प्रशिक्षण संस्थापनले झण्डै दुई साता अघि महासचिव कृष्णबहादुर महाराको उपस्थितिमा गरेको थियो । आजको प्रशिक्षण कार्यक्रममा बाबुरामलगायत नेताहरु सहभागी भएको र बाबुरामले सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नै विवाद समाधान गर्न नचाहेकाले समस्या भएको बताइएको छ । भट्टराईले सो अवसरमा हाल पार्टी संगठन नै अस्तव्यस्त रहेको बताउँदै माओवादी हुँ भन्दा पनि शिर निहुराउनु पर्ने अवस्था आएको समेत बताएको एक कार्यकर्ताले बताए ।

0 comments

Write Down Your Responses