फेरि किन बढ्दैछ राजधानीमा डनको चुरीफुरी ?

२०७२ वैशाख १ गते

काठमाडौँ, १ बैशाख । केही महिनासम्म यस्तो समय थियो, प्रहरीको नाम सुन्ने वित्तिकै गुण्डा र तिनका नाइके तर्सिन्थे । अहिले यस्तो समय आएको छ, पक्राउ परेको केही घन्टामै गुण्डाहरु छुट्न थालेका छन् ।


दृष्टि साप्ताहिक लेख्छ- पछिल्लो समय प्रहरीले पक्राउ गरेका केही डनहरु तत्कालै छुट्न थालेका छन् । पार्किङ विवादमा स्थानीयलाई धम्क्याएको आरोपमा पक्राउ परेका राजु गोर्खाली एक दिन पनि थुनामा परेनन् । पक्राउ गर्न गएका प्रहरीलाई नै उनले दुव्र्यवहार गर्दा पनि उनलाई प्रहरीले थुन्न सकेन ।

नक्सालमा करोडौंको सार्वजनिक जग्गा पास गर्न खोसेको र स्थानीयलाई धम्क्याएकोमा पक्राउ परेका संजय डंगोल तीन दिनमै छुटे । कांग्रेसको आडमा गुण्डागर्दी गर्दै आएका संजीव लामा स्याल पनि चार दिनमै छुट्न सफल भएका छन् । राजनीतिक दबाबकै कारण उनीहरुलाई काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले छाडिदिएका हुन् । जबकि उनीहरुलाई २४ दिनसम्म सार्वजनिक अपराध मुद्दा लगाएर थुन्ने अधिकार प्रहरीलाई थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेर कारबाहीका लागि परिसरमा बुझाएको थियो । तर राजनीतिक दबाब यति धेरै आयो कि प्रहरीले थुन्नै सकेन । ‘हामीले मात्र कति लड्ने ?’ महानगरीय अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘नेताहरुलाई गुण्डा नै सबैभन्दा प्यारो छ ।

डन दिनेश अधिकारी चरीको इन्काउन्टरपछि डनहरु सबै डराएका थिए । राजधानीमा गुण्डागर्दी शून्यमै झरेको थियो । तर पछिल्लो समय गुण्डाहरु फेरि नेताहरुको आडमा जागेका छन् । हप्ता असुल्नेदेखि ठेक्कापट्टामा धम्काएर आफू निकटको ठेकदारलाई ठेक्का पारीदिने पुरानै धन्दा सुरु भइसकेको छ । नाम चलेका अरु गुण्डाहरु पनि प्रहरीसँग डराउन छाडेका छन् ।

यतिबेला चक्रेका सहयोगी दीपक तालु र काभ्रेली समूहका भ्यान्डम लामा प्रहरी हिरासतमा छन् । उनीहरु संजय डंगोल र संजीव स्यालसँगै पक्राउ परेका थिए । डंगोल र स्यालको नेता ठूला नेताहरुकै दबाबमा छुटेका हुन् । लागूऔषध मुद्दामा डिल्लीबजार जेलमा रहेका दावा लामा पनि नेता र पैसाकै आडमा छुट्ने तयारीमा छन् । उता गणेश लामा र मिनकृष्ण महर्जन भने मिडियामा लगानी गरेर कालोधनलाई शुद्धीकरण गर्ने अभियानमा लागेका छन् ।

0 comments

Write Down Your Responses