के भूकम्पको पूर्वानुमान गर्न सम्भव छ ? के भन्छन् वैज्ञानिक ?
२०७२ वैशाख १४ गते
काठमाडौँ, १४ बैशाख । के भूकम्पको पूर्वानुमान गर्न सम्भव छ ? के वैज्ञानिकलाई भूकम्प आउने बारे जानकारी हुन्छ ? अथवा कहाँ, कतिबेला भूकम्प आउँछ भन्ने कुरा पहिल्यै भविष्यवाणी गर्न सकिन्छ ?
नेपालमा भूकम्पका विषयमा विभिन्न भविष्यवाणी गरिएपछि भारतीय वैज्ञानिकहरुले यस विषयमा टिप्पणी गरेका छन् । उनीहरुले यसलाई निरर्थक बहस भनेका छन् । भारतीय वैज्ञानिकहरु भन्छन्, ‘विज्ञानको समग्र आधुनिक अनुसन्धानबाट समेत भविष्यवाणी सम्भव छैन । तर, भूकम्प आएपछि कहाँ कति असर पर्छ, कति सेकेण्डसम्म असर पर्न सक्छ भन्ने विषयमा भने बताउन सम्भव छ ।
सामाजिक सञ्जालमा भूकम्पका विषयमा भइरहेका टिकाटिप्पणी र भविष्यवाणीलाई उनीहरुले वाहियात र वैज्ञानिक हिसाबले तर्कहीन भनेका छन् ।
भारतको राष्ट्रिय आपत व्यवस्थापन संस्थानका प्रोफेसर चन्दन घोष भन्छन्, ‘भूकम्पको केन्द्रबिन्दू थाहा हुँदैन । यद्यपि त्यस आसपासको क्षेत्रमा भूकम्प जान सक्ने अनुमान केही सेकेण्ड अघिमात्रै वैज्ञानिक तरिकाबाट गर्न सकिन्छ । तर, केही सेकेण्ड अघिमात्रै थाहा हुने हुँदा पहिल्यै भविष्यवाणी गर्न समय पुग्दैन ।
उनी भन्छन्, ‘अझ नेपाल र भारतको परिपेक्ष्यमा त यो सम्भव नै छैन । जापानमा भूकम्प आउनुभन्दा केही सेकण्डअघि मात्र थाहा हुन्छ । तर, त्यहाँ पनि सार्वजनिक रुपमा भविष्यवाणी गरिन्न । यो सूचनाका आधारमा बुलेट रेल र परमाणुयन्त्रहरु भने स्वत बन्द गरिन्छन् ।
उनका अनुसार, अहिलेको विज्ञानले एक सय किलोमिटर आसपासको क्षेत्रमा भूकम्प आउन सक्ने संकेत ८ सेकेण्ड अघिमात्रै थाहा पाउन सकिन्छ ।
बरु, चरा, शर्प र कुकुरजस्ता जनावर र पन्छीको व्यवहारबाट भने भूकम्पको संकेत थाहा पाउन सक्ने भारतीय वैज्ञानिकहरुले बताएका छन् ।
नेपालसँगै भारतमा पनि भूकम्प गएपछि अहिले भूकम्पका विषयमा भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेक खाले बहस र टिकाटिप्पणी भइरहेका छन् ।
समाचार एजेन्सीको सहयोगमा
0 comments
Write Down Your Responses