भूकम्प पीडित भोकै, सिंहदरबारभित्र विदेशी राहतमा दलहरुको आँखा
काठमाडौं ।
शनिवार गएको विनाशकारी भूकम्पले ठुलो जनधनको क्षति पुरयाएपछि स्वदेश तथा विदेशबाट राहतका ठुला प्याकेज घोषणा गरिएका छन् । तर उक्त राहत पारदर्शी हुने या नहुँने बिषयमा भने सरकारमा रहेका दलहरु नै सशंकित बनेका छन् । दैविक प्रकोपका बेला राज्यकोषबाट खर्च भएको विवरणमाथी लेखा परिक्षण हुँदैन । आपतकालिन अवस्थामा भएको खर्चको विवरण मात्र राख्ने गरिन्छ । यस्तो बेला रकम दुरुपयोग हुनेमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस गृहमन्त्री बामदेब गौतमसँग सशंकित छ । भने, प्रधानमन्त्री राहत कोषको रकम दुरुपयोग हुनेमा एमाले सशंकित बनेको छ ।
गृहमन्त्री बामदेव गौतमले जथाभावी खर्च गर्न सक्ने आशंका देखेपछि नेपाली कांग्रेसले आफ्ना केही मन्त्रीको डिउटी नै गृहमा खटाएको छ । कांग्रेस मन्त्रीहरु दैनिक २–२ घण्टाका दरले गृहमन्त्रालयमा डिउटी दिने गरेका छन् । काँग्रेसका नेतादेखि मन्त्रीसम्मले एमालेको जिम्मामा रहेको गृहमन्त्रालयमा दैनिक डिउटी दिन थालेपछि एमालेले पनि पदाधिकारी स्तरका आफना नेतालाई गृहमन्त्रालयमा खटाएको छ । स्रोतका अनुसार महासचिव इश्वर पोखरेलको नेतृत्वमा एमाले टोली गृहमा खट्टिएको छ ।
त्यसैगरी एमालेले पनि अर्थ र प्रधानमन्त्री कार्यालयमा आफ्ना नेताहरु पठाएको छ । त्यहाँबाट जथाभावी रकम खर्च हुने आशंका देखेपछि एमालेले आफ्ना भरपर्दा नेताहरु खटाएको स्रोतले बताएको छ ।
पीडितका नाममा आएको रकम दुरुपयोग हुनेका सिहदरवारभित्र मात्र शंका उत्पन्न भएको छैन, पीडितहरु पनि सशंकित बनेका छन् । विनाशकारी भूकम्प गएको १० दिनसम्म छत ढाक्ने त्रिपालसम्म पाउन नसकेका पीडितहरु आफ्ना नाममा आएको रकम दुरुपयोग हुनेमा सशंकित बनेका छन् ।
0 comments
Write Down Your Responses