सरकार यी नागरिक होइनन् ?

काठमाडौं ।


एक साताअघि गएको विनाशकारी भूकम्पले ७ हजार ब्यक्तिको ज्यान र करिव १५ हजार ब्यक्तिलाई घाइते मात्र बनाएन ५ लाख परिवार सडकमा पुगे । भूकम्प गएदेखि सडकमा पुगेका विस्थापित परिवारले टाउको ढाक्ने त्रिपालसम्म पाउन सकेका छैनन् । ‘अहिलेसम्म २ लाख त्रिपाल वितरण गरयौँ, अझै तीन लाख त्रिपालको आवश्यकता छ,’ विनाशकारी भूकम्प गएको १० औँ दिन सुचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भने ‘सवै परिवारलाई त्रिपाल पुरयाउन अझै केही समय लाग्छ ।’
भूकम्प गएको १० दिन वितिसक्दा आधाभन्दा बढि परिवारले त्रिपाल पाउन नसकेको स्वीकरउक्ति सरकारकै छ । किन त्रिपाल नै उपलब्ध गराउँन सक्दैन सरकार ? मुख्य कारण हो, राजनीतिकरण । दैबिक प्रकोपमा राहत वितरण गृहमन्त्रालयबाट हुने प्रावधान छ । तर यस्तो बेला गृहमन्त्रालयले राहत वितरण गरे एमालेमा जनताको सेन्टीमेन्ट बढ्ने कांग्रेसको बुझाई छ । ‘त्यही भएर गृहमन्त्रीको हात बाँधने काम सरकारकै मन्त्रीबाट भयो’ एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगश भट्टराईले भने ‘राहत वितरणमा गृहमन्त्रीलाई काँग्रेस मन्त्रीले घेराबन्दी गरिरहेका छन् ।’ गृहमन्त्रालयमा कांग्रेसमन्त्री पालो गरेर कुर्ने गरेका छन् । २ घण्टाका दरले कांग्रेसका मन्त्रीहरु गृहमन्त्रालयमा बस्ने गरेका छन् ।
दैनिकजसो बर्षा भएपछि विस्थापित परिवारको अवस्था थप नाजुक बन्दै गएको छ । राजधानीभन्दा बाहिरका जिल्ला गोर्खा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोकमा अझै पनि त्रिपाल पुग्न सकेको छैन ।
गाउँमा भूकम्प पीडितले सामान्य राहत त्रिपाल र चामल पाउन सकेका छैनन् तर राजधानीमा शनिवार प्रमुख राजनीतिक दलका नेताहरुले भने महाविपत्तीको सामना गर्ने सामुहिक निर्णय गरे । सिंहदरवारमा महाविपत्तीको सामना गर्ने दलहरुले निर्णय गरेपनि पीडित परिवारमा राहतको आशमा दिन विताउन थालेका छन् ।
शनिवार राहत पाइने आशमा सिन्धुपाल्चोक स्याउलेका स्थानीयबासी लाममा बसे । राहत टोली पुग्नु भन्दा पहिले नै आशमा साना साना बालकालिका पनि लाइन बसे । त्यही बेला बर्षा भयो । तर पनि उनीहरुले लाइन छोडेनन् । त्रिपालको आशमा साना बालबालिका साँझसम्म बसे तर राहत टोली पुगेन । त्यसैगरी गोर्खा र धार्दिङ लगाएतका जिल्लामा पनि राहत सामग्री हालसम्म पुग्न सकेको छैन । राहत पुरयाउन राजनीतिक दलहरु नै कतिपय ठाउमा बाधक बनेका छन् । (तस्विर समाजिक सञ्जालबाट)

0 comments

Write Down Your Responses