राहतसँग धर्म साट्न बाध्य पार्दै, हिन्दू मठमन्दिरमा जवरजस्ती बाइवल राखियो

सिन्धुली ।


विनाशकारी भूकम्पबाट पीडित भएका परिवारलाई राहतका नाममा जवरजस्ती धर्म परिवर्तन गराउन थालिएको छ । सिन्धुपाल्चोक, रामेछापपछि सिन्धुली पुगेको एक गैरसरकारी संस्था (एनजिओ) ले राहत लिन बाइवल अनिवार्य गरेको छ । ‘क्रिश्चित धर्मका प्रचार सामग्री र वाइवल नलिनेलाई राहतबाट बंचित गरिएको हामीले पायौँ,’ नेपाली कांग्रेस सिन्धुलीको नेता कृष्ण दाहालले भने ‘पोखरी गाविसमा बाइवल लिनेलाई मात्र राहत वितरण गरिएछ यो दुखद र निन्दनीय कार्य हो ।’
राहत बाँड्न सिन्धुली पुगेका केही गैरसरकारी संस्थाका प्रतिनिधीहरुले जवरजस्ती धर्म परिवर्तन गराईरहेका छन् । धर्म परिवर्तन गरेमात्र राहत दिने बताएपछि स्थानीयहरु दवावमा परेको दाहालले बताए । अनुग्रह सेवा नेपाल नामक संस्थाले जवरजस्ती धर्म परिवर्तन गराईरहेको छ । ‘धर्म परिवर्तन गरेपछि पीडितलाई दिइएको चामलको बोरामा बाइवल राखिएको हामीले पायौँ’ एमाओवादीका जिल्ला नेता ज्वाला न्यौपानेले भने ‘कतिपयले राहतका नाममा थाह नै नपाई धर्म परिवर्तन गछौँ समेत भनेछन्, उनीहरुलाई चामल र बाइवल दिइएछ ।’ पीडाको बेला धर्मको प्रचार गर्ने क्रिश्चियन धर्मका प्रचारकलाई कारवाही गर्न उनले माग गरेका छन् ।
अनुग्रह सेवा नेपाल नामक संस्थाले ५५ बोरा चामल ३० थान त्रिपाल वितरण गरेको छ । उनीहरु सवैलाई बाइबल वितरण गरिएको न्यौपानेले बताए । हिन्दुधर्म छोडी बाइवल नलिनेलाई राहत नदिएपछि स्थानीयले विरोध जनाएका थिए । स्थानीयले विरोध गरेपनि स्थानीय प्रशासन मौन बसेका कारण उनीहरुलाई कुनै कारवाही नभएको दाहालले बताए ।
सिन्धुलीमा रहेका मठमन्दिर र सार्वजनिक स्थलमा क्रिश्चिय धर्मका प्रचारकहरुले वाइवल राखिदिने गरेका छन् । ‘धेरै मठमन्दिरमा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले बाइवल राखेको हामीले पायौँ,’ कांग्रेस नेता दाहालले भने ‘पीडितको संवेदना र धार्मिक स्थलमा प्रहार सुरु भएको छ यसले ठुलो विपत्ति पनि निम्त्याउन सक्छ ।
भूकम्प पीडितको पिडामा जवरजस्ती धर्म परिवर्तन गराउन खोजेपछि त्यसको छानविन भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु पोखरेलले बताए । उनले भने ‘मैले सुनेको छु तर तथ्य आएको छैन, तथ्य आए कारवाही हुन्छ ।

0 comments

Write Down Your Responses