छाउनीमा इजरायली टेन्ट अस्पतालको उत्कृष्ट सेवा

May 4, 2015

२१ वैशाख, काठमाडौँ ।


डा राजेश केसी र सविता बोहरा (केसी) को पुत्रीलाभ टेन्टभित्र नै भयो ।

उसो त डा केसी नेपाली सेनाद्वारा सञ्चालित काठमाडौँको छाउनीस्थित आर्मी अस्पतालमा नै कार्यरत चिकित्सक हुनुहुन्छ । अस्पतालमा भूकम्पका घाइतेको उपचारको स्थान अभाव भएपछि उहाँले इजरायली सेनाद्वारा सञ्चालित क्याम्पभित्र लानुभयो । क्याम्पभित्र नै उहाँलाई पुत्रीलाभ भयो ।

भूकम्पका घाइतेका उपचारका लागि इजरायली सेनाले वैशाख १५ गतेदेखि आर्मी अस्पतालको हाताभित्र टेन्टभित्र अस्पताल राखी उपचार सेवा सुरु गरेको थियो । हालसम्म पाँचजना गर्भवती महिलाले टेन्टभित्र बच्चा जन्माइसकेका छन् ।

टेन्टभित्र गर्भवती महिलाका लागि पाँच शैया व्यवस्था गरिएको छ । टेन्टभित्र पहिलो बच्चालाई जन्म दिएकी सविता बोहराले भन्नुभयो, “यहाँ अप्ठ्यारो भएन, म खुसी छु ।”

चौरभित्र सानो अस्पताल नै सञ्चालित रहेको छ । अस्पतालका लागि आवश्यक पर्ने सेवाहरु आकस्मिक, बहिरङ्गलगायतका सेवा त्यहाँ रहेका छन् । त्यहाँ लगिने बिरामीलाई सुरुमा आकस्मिक सेवामा काम गर्ने चिकित्सकहरुले हेर्छन् । यसपछि थप उपचार अथवा शल्यक्रिया गर्नुपरेमा भर्ना गर्ने गरिएको छ ।
अस्पतालका प्रवक्ता लिब्बी वुइसले उपचारका लागि आवश्यक पर्ने सबै सामग्री इजरायलबाट नै ल्याइएको जानकारी दिनुभयो । उहाँले ४० जना चिकित्सकसहित २०० जनाले अस्पतालमा सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

वैशाख १२ गते आएको भूकम्पमा छाउनी नजिकै पाँच तलामाथिको घरबाट थिचिएर बाँच्न सफल भएकी कल्पना धितालको पनि त्यहाँ उपचार भइरहेको छ ।
अस्पतालमा आएकामध्ये हालसम्म १२ जनाको जटिल शल्यक्रिया भएको प्रवक्ता वुइसले जानकारी दिनुभयो । हालसम्म ४०० ले उपचार सेवा लिइसकेका छन् ।
रसुवा, राम्चेका १३ वर्षीय सुकराम तामाङले पनि इजरायली चिकित्सकहरुले प्रदान गरेको सेवाप्रति खुसी व्यक्त गरे । विनाशकारी भूकम्प जाँदा घरले थिचेर खुट्टामा चोट लागेका तामाङसहित अन्यलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको थियो । तामाङले गहभरि आँसु पार्दै भने, म मरेर बाँचे, बाँचेर के गर्नु खुट्टा गुमाउनुप¥यो । आइतबारमात्र ती बालकको घुँडामुनिको भाग काम नलाग्ने भएपछि काटेर फालिदिएका थिए ।

धादिङ कटुञ्जेबाट उद्धार गरी अस्पतालमा ल्याइएका दिनेश तामाङले अस्पतालको सेवाप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “डाक्टरले करङको शल्यक्रिया गर्नुपर्छ भनेका छन्, शल्यक्रिया राम्रो नै होला ।”

भूकम्पबाट घाइते भई दोलखाको बोजबाट ल्याइएका वीरबहादुर तामाङले भन्नुभयो, “मलाई काठमाडौँको नर्भिक अस्पतालले उपचारका लागि पैसा मागेपछि यहाँ आएको हुँ ।”

घरवारविहीन भएका तामाङले यहाँको उपचारदेखि खुसी छु उहाँले भन्नुभयो ।

अस्पतालका इजरायली नर्स हुरेसले अस्पतालमा ट्रमाका बिरामी बढी आएका जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भूकम्पका घाइतेको उपचारका लागि एकसय राष्ट्रिय टिमका एक हजार र ७० वटा अन्तर्राष्ट्रिय टिमका ७०० चिकित्सक परिचालन भइराखेका छन् ।

0 comments

Write Down Your Responses