मलाई कसरी बचायौ दैव ?

घरबारसँगै सपनाका चाँङहरु ढलाउँने विनाशकारी भूइचालो आउँदा सिन्धुपाल्चोकको जलबिरेमा थिएँ । ससुरालबाट काठमाडौं फर्कन सडकमा झरेको मात्रै के थिएँ, सडक त पिङ जसरी यताउता हल्लिन थाल्यो । के भयो भनेर सोच्नै नपाई माथिबाट एउटा विशाल चट्टानसहितको पहिरो खस्यो । चट्टान ठीक मै अगाडि आएर वस्यो । रुखविरुवासहतिको पहिरो खसेको खस्यै छ । सोचें, अब म मरें ।


सोच्दासोच्दै त्यहीं ढुङ्गो चढेर पहिरो पार गर्ने प्रयास गरें । सडक छेऊको एउटा पक्की घर ढल्यो । बिजुलीको पोल पनि ढल्यो । र पनि, सबै खाले भौतिक प्रहारबाट जोगिन सफल भएँ । जमिन हल्लिन अलिक कम भएपछि यताउता हेर्दा सबै पाखापखेरबाट धन्धाधुन्ध धुलो उडिरहेको, पहिरो खसिरहेको । एउटै पनि घर सग्लो छैन । सबै जगैदेखि उखेलिएका । सोचें, सुत्केरी श्रीमती, एक महिने छोरी, बा, आमा, भाइ, बहिनीहरु र आफन्त सबै सकिए । म मात्रै बाचेँ । किन बाँचे ? हे दैव, मलाई मात्रै किन बँचायौं ।
हँस्याङफस्याँङ गर्दै ससुराल घर पुगें । घर त जरैदेखि भत्किएछ । बोलाएँ, ‘सुमी, सुमी…’ सुत्केरी श्रीमती सुमी ढलेको घरको माटोमुनिबाट बाहिर निस्कँदै रहिछन् । हतारहतार खाटमुनि लुकेर घर ढेलेपछि बनेको सानो टाँडबाट उनी निस्कन सफल भइन् । उनी डाँको छाडेर रुन थालिन् । साली अफ्सरालाई घरले थिचेछ । अफ्सरा भित्र ‘बँचाऊ, बँचाऊ’ भन्दै चिच्चाइरहेको मसिनो स्वर सुनियो । त्यतिनै बेला भित्र कतैबाट ससुराबा निस्कनुभो । र, हामी हतारहतार अफ्सरालाई उत्खनन् गर्न लाग्यौं । छोरी सुबीलाई सासुआमा शोभाले सुइ लगाउँन खोपकेन्द्र लैजानु भएको थियो । के भयो ? घरमा के भयो  ? भाइ र बैनीलाई के भयो ? फोन ट्राई गरें । कतै सम्पर्क हुन सकेन ।
अफ्सरालाई उत्खनन् गर्दै गर्दा धेरै पटक ठूला भूकम्पको प्रतिधक्का आयो । यसका बाबजुत पनि हामीले तीन घण्टा निरन्तर प्रयास गर्दा अफ्सरालाई जीवित उद्दार गर्न सक्यौं । त्यतिनै बेला छोरीसहित सासुममी आइपुग्नु भयो । अलिकति सास आयो । अब घरमा के भयो ? कसरी बुझने ? दिमाग नियन्त्रणबाहिर गयो ।
वल्लोपल्लो र तल्लोमाख्लो घरमा पनि रुवावासी छ । त्यतिबेलासम्म हामीले अन्त ध्यान दिन पाएका थिएनौं । ,पछि थाहा भयो, तल्लाृे घरकी साली प्रतिमाको ज्यान गएछ । अरु चारपाँच जनालाई जीवितै उद्दार गरिएछ । पल्लो गाउँबाट बँचाऊ बँचाऊ भन्ने आवाज नसुनेको होइन । तर पनि जान सक्ने अवस्था थिएन । पछि थाहा भयो, त्यो घरका सबैको ज्यान गएछ ।
गाउँमा कसैको पनि घर छैन । भूकम्प आउँने रोकिएको छैन । वस्तुभाऊ, अन्नपात सबै माटोमा मिलेछन् । मर्ने त मरे, बाँच्नेको झन् विजोग भयो । त्रासैत्रासको बीचमा एउटा ठूलो बारीको पाटोमा भकारीको झुप्रो बनाइयो । न ओच्छ्यान छ, न खाद्यान्न । बालिका छोरी रुन्छे, खुवाउँने केही छैन । कस्तो विपत्ति ?
साँझपख घरमा बुबालाई फोन लाग्यो । बुबा, ममी, भाइ र बैनीहरु पनि भागेर ज्यान जोगाउँन सफल भएछन् । तर, घर छैन । खानेकुरा छैन । सबैको विचल्ली ।

0 comments

Write Down Your Responses