साउन ९, कुडिया, नवलपरासी ।
झट्ट सुन्दा पत्यार नलाग्न सक्छ, आफ्नो छोरालाई बचाउन भगवानलाई चढाउने नाममा छिमेकीको छोरा मारियो । चलनचल्तीको भाषामा बालकको ‘बली’ । तर शनिवार मध्यान्ह पूर्व पश्चिम राजमार्गबाट २० किलोमिटर दक्षिणतर्फ नवलपरासीको कुडियामा यस्तै घटना भयो ।
घटना गत साउन ५ गतेको हो । स्थानीय ३५ बर्षीय कोदाइ हरिजनले आफ्ना बिरामी छोराको तान्त्रिक उपचारका लागि छिमेकीको १० बर्षीय बालकको ज्यान लिएका थिए । प्रहरीका अनुसार घटना विवरण यस्तो थियो, शिवशरण कहारका परिवार खेतमा धान गोड्न गएका बेला उनका १० बर्षीय छोरा जीवन कोहार छिमेकी सुर्यभान चमारको घरमा खेलिबसेका थिए । खेतबाट परिवार आएपछि जीवनको खोजी गर्दा उनी कतै भेटिएन, प्रहरी कार्यालयमा परिवारले निवदेन दिए । खोजतलासीको क्रममा ७ गते साढे १२ बजेतिर नदीकिनारको शिवान मन्दिर नजिकको झाडीमा घोप्टो परी फालेको शव भेटियो । र, प्रहरीले कोदाई हरिजनसहित ९ जनालाई पक्राउ गऱ्यो । पक्राउ पर्नेमा पूजारी गंगा हरिजन, रुदल हरिजन र विजय हरिजन र बिरामी भनिएका कोदाइका छोरा विजय हरिजन छन् ।
कोदाइ हरिजन झाक्रीको काम गर्दै आएका थिए, छिमेकमा कोही बिरामी हुंदा उनी उपचारका लागि पुग्थे । अन्धविश्वासमा लागेका उनै कोदाइका छोरा विजय बेलाबेलामा विरामी भइरहेका थिए । यो पटक पनि छोरा विरामी भएपछि साउन ५ गते उनले घरमा पूजारी गंगा र आफ्ना भाइ सुर्यभान हरिजन र अर्का छिमेकी रुदल हरिजनलाई बोलाए, उनीहरुले घरभित्र पूजापाठ गर्न धूपबत्ति लगायत सामाग्री जुटाए । उनको छोरा जीवनलाई बकाए, ‘देवता चढेका’ छोराले के मलाई मान्छेको मासु देऊ नत्र तिम्रै सन्तान खान्छु भनेपछि कोदाइले छिमेकीको सन्तान देवतालाई चढाउन मनसाय बनाए । प्रहरीका अनुसार त्यसका लागि घरमा बोलाएका पूजारीलाई ५० हजार दिए भने दुई घर परका शिवशरणको छोरा जीवनलाई १० रुपैयाको बिस्कुट किनेर फर्काउदै मर्चहवास्थित शिवानमा पुऱ्याए, त्यही उनको हत्या भयो । सोही ठाउंमा जीवनको हत्या भयो । प्रहरीको भनाइ भन्दा छिमेकीको भनाइ फरक छ, उनीहरुका अनुसार घरभित्रै पूजा गरिएको ठाउंमा नै उनको ‘बली’ चढाइएको थियो । कोदाईले प्रहरीका कार्यालयमा सम्वाददातासंग भने–झाक्री लगाउंदा बिरामी छोराले मलाई मान्छेको मासु चाहियो भने, त्यसपछि मैले छिमेकीको छोरालाई उखु काट्ने हतियारले घांटी रेटे । उनले यसो भनिरहंदा छिमेकी शिवशरणको परिवारसंग कुनै दुश्मनी नरहेको बताए ।
यो घटना गुपचुप नै थियो, जीवन हराएको खबर प्रहरीसमक्ष पनि पुग्यो, कोदाइ पनि छिमेकीलाई सान्त्वना दिदै जीवनको खोजी गर्ने भन्दै भारततिर गए । यता, घरतिर स्थानीयले शंका गरिसकेका रहेछन्, कोदाइले नै ती बालकलाई घरभित्र लुकाएर मारेका छन्, साउन ५ गतेबिहानैबाट कोदाईले बली चढाउनुपर्ने भन्दै गरेको छिमेकीले गाइगुई सुनेका रहेछन्, प्रहरी आएर खोजतलासी गरेपछि बालक मार्ने क्रममा सघाउनेलाई पक्राउ गरेपछि स्थानीयले कोदाईको घरमा तोडफोड गरे, आक्रोशित स्थानीयले घरमा क्षति पुऱ्याएको कोदाईले पनि चाल पाइसकेका रहेछन् । र, उनकै भनाइमा एक जना छिमेकीको मोटरसाइकल चढेर प्रहरीका पुगे । नवलपरासी प्रहरीका एसपी नलप्रसाद उपाध्यायले भने प्रहरी टोलीले स्थानीयको सहयोगमा भारतबाट ल्याई नेपालतर्फको सीमानामा पक्राउ गरेको दावी गरेका छन् ।
शनिवार मध्यान्ह सम्वाददाताको टोली उक्त घरमा पुग्दा शिवशरण कहारको परिवार विक्षिप्त थियो, उनकी श्रीमतिको आंखा ओभाएका थिएनन्, स्थानीयहरु आक्रोशित थिए, शिवशरण भने अवाक् थिए, उनी केही बोल्न सकिरहेका थिएन । छिमेकीहरु घटनाबारे बताइरहेका थिए । उनीहरु भन्दै थिए, घरभित्र बालक मारेर ट्वाइलेटभित्र राखेर ताल्चा लगाइयो, प्रहरीले त्यहां पुगेपनि त्यतातिर खोजी गरेनन् । प्रहरीले भने उखु बारीमा जीवनलाई मारिएको दावी गरेको छ ।
स्थानीयका अनुसार, दलित समुदायको वाहुल्यता रहेको उक्त गाउंमा अन्धविश्वासको नाममा गराइएको यो पहिलो घटना हो । तराईका जिल्लामा यदाकदा अन्धविश्वासको नाममा यस्ता घटना हुने गरेका छन् । रौतहटको शवनपुरमा २०६९ जेठ ६ गते बोक्सीको विद्या सिक्ने भन्दै ३ बर्षीय बालकको टाउको काटिएको थियो ।
0 comments
Write Down Your Responses