काभ्रेको पहरीबस्ती पुग्दा पानी झर्नै लागेको थियो । मौसमले साथ नदिने संकेत देखाए पनि त्यहाँ सिताराम कट्टेल ‘धुर्मुस’ हातमा पाइपको टुक्रा लिएर हँसिलो मुहारमा उभ्भिरहेका थिए । उनी करिब ३ महिनादेखि भूकम्पकापीडितका लागि घर निर्माण गर्न खटिरहेका थिए ।
रातोपाटी संवाददातासँग केही समय कुरा गरेपछि उनले आफूले बनाएका घरहरु देखाए । करिब ३ महिना अर्थात ८० दिन लगाएर पहरी गाउँमा भूकम्पपीडितका लागि धुर्मुसले घर निर्माण गरेका रहेछन्, कैयन दिन त्रिपालमुनि बिताएर ।
उनीसँगै काम गर्ने सुरुमा ७० जना भएपनि त्यहाँ उनको साथमा ७/८ जना मात्र थिए । कोही बारबन्देज गरेर रंग लगाउँदै थिए भने कोही पाइप गाड्नमा व्यस्त थिए । भद्रगोलका कुमार कट्टेल ‘जिग्री’ र विकास राज पाण्डेय पनि त्यहाँ गएका थिए । उनीहरु त्यहाँ पुग्नासाथ कपडा बदलेर गरेर काममा खटिए । । सुरुदेखि नै घर निर्माणमा खटिएका कुञ्जना भने त्यो दिन थिइनन् ।
धुर्मुसले स्थानीय भूकम्पपीडितका लागि २० घर तयार पार्न कम्ता मेहनत गरेका रहेनछन् । भन्दै थिए, ‘बिहान पाँच बजेदेखि बेलुका आठ बजेसम्म निरन्तर खटिरहेका छौं ।’ हुन पनि धुर्मुसको नेतृत्वको कलाकार टोलीले निर्माण गरेको घर सानो मेहनतले ठडिने खालका पनि छैनन् ।
सुरुमा २०/३० लाखको अनुमान गरेर घर निर्माण कार्य अघि बढाएको बताउने धुर्मुस काम गर्दै जाँदा झन्डै १ करोड नाघेको बताउँछन् ।
झन्डै एक करोड खर्चिएर नेपालकै पहिलो ‘एकीकृत नमूना बस्ती’ निर्माण गरेका धुमुर्सले प्रत्येक घरधुरीका लागि अलग्गै धारा, घरभित्रै शौचालय, डिस होम, गार्डेन र पाँच घरधुरी बराबर एउटा बायो ग्याँसको समेत ब्यवस्था गरेका छन् ।
धुर्मुस टोलीले बनाएको घर हेर्न अहिले मानिसहरुको ताँती लागिरहेको छ । तर, उनी यति व्यस्त छन् कि आफूले बनाएको घर हेर्न आउनेसँग राम्ररी कुरा गर्नसमेत पाएका छैनन् । पहरीवस्तीमा आफ्नै डिजाइनअनुरुप एल आकारको तीन कोठे घर बनाउँदा उनी आफैं दंग छन् ।
कहाँ बन्यो नमुना बस्ती
पलान्चोक भगवती मन्दिरबाट करिब ५ किलोमिटर अगाडि गएपछि डाडाँगाउँ पुगिन्छ । हो, त्यही धुर्मुसले नमुना बस्ती बसाल्न घरहरु बनाएका हुन् । लापोन्मुख पहरी जाती बस्ने उक्त गाउँमा धुर्मुसले नमुना बस्ती बसाल्न घरहरु निर्माण गरेका हुन् ।
वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लामा पुगेर राहत वितरणको काम सकेलगत्तै पुनर्निर्माण कार्यमा जुटेका धुर्मुस अहिले भूकम्पपीडितका लागि सहयोग गर्न पाएकोमा प्रफुल्ल देखिन्छन् । धुर्मुसले यही २७ गते उक्त घरहरु नेपाल सरकारको हातबाट पहरीवस्तीका वासिन्दालाई हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरेका छन् ।
धुर्मुस–सुन्तलीको यो अभियानलाई मेरी बास्सै, भद्रगोल, सगुन डटकम र नेपाली सेनाको चोक ढकालको नेतृत्वले पनि साथ मिलेको धुर्मुस बताउँछन् । साथमा स्थानीबासीको सहयोग पनि उनले पाएका छन्, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेका छन् ।
पहरी बस्ती नै किन ?
पहरी जाति नेपालको लोपोन्मुख जाति मानिन्छन् । यो जातिको संख्या नेपालमा झन्डै ४५ सयको हाराहारीमा रहेको बताइन्छ । पिछडिएको यो जाति अर्काको जग्गामा बस्ने गर्छन् । शिक्षा, स्वास्थ्य र प्रविधिमा पनि यो जाति पछि नै छन् । तिनै जातिका केही परिवारको मुहारमा खुसी ल्याउन धुर्मुसले २० घर निर्माण गरेका हुन् ।
अमेरिकाको कार्यक्रम स्थगित गरेर फर्के लगत्तैदेखि धुर्मुस–सुन्तली भूकम्पपीडितका लागि राहत र पुनस्र्थापना गर्न सुरुदेखि हालसम्म निरन्तर लागिरहेका छन् । सुरुमा गोरखा र धादिङ राहत वितरण गर्न पुगेका उनीहरुले त्यसपछि सिन्धुपाल्चोकको पिपलडाँडामा चर्पी निर्माण गरे । नुवाकोटमा ठूलोसिचत्रेमा श्री महाकाली निमावि स्कुलको ७ कोठे भवन बनाए । यसपछि धुुर्मुस छरिएर रहेका वस्तीहरुलाई एकै ठाउँमा एकीकृत गर्न एकीकृत नमुना बस्ती निर्माण गर्न पहरी गाउँ आइपुगेका हुन् ।
धुर्मुस आफूले बनाएको घरबाट सरकारले पनि पाठ सिक्नु पर्ने बताउँछन् । ‘अब यो बस्तीलाई हेरेर नेपाल सरकारले पनि यस्तै एकीकृत बस्ती बनाउनु पर्छ,’ धुर्मुस भन्छन्, ‘पहरी वस्र्ती आन्तरिक र बाह्य पर्यटकको लागि पनि आकर्षक गाउँ बन्न सक्छ ।’
नमुना बस्ती बसाल्ने सोच यसरी बन्यो
‘१० जेठमा गोरखामा थिए । त्यही दिन काठमाडौं आएर सिधै काभ्रे लाग्यो हाम्रो २÷३ जनाको टोली । खानेपानी विभागका काभ्रेका प्रमुख माहेनलाल जोेशीले यहाँ पिछडिएका पहरी वस्ती रहेको र उनीहरुका लागि चर्पी बनाइदिन भनेपछि हामी त्यहाँ पुग्यौं,’ पहरी गाउँमै नमुनाबस्ती बसाल्नुको कारणबारे धुर्मुसले भने, ‘त्यस ठाउँ पुगेपछि मलाई चपी बनाउने भन्दा पनि हामी एकीकृत नमूना बस्ती नै बसाउने सोच आयो । अनि सबैसँग छलफल गरेर काम थालेँ ।’
सुरुमा पहरेको तल्लो वस्तीमा गएर एकीकृत बस्तीको बारेमा छलफल चलाएको बताउने धुर्मुस स्थानीयमा विवाद देखिएपछि माथिल्लो बस्तीमा नमुना बस्ती बसाल्न पुगेको बताउँछन् । ‘कस्तो खालको घर बनाउने र कसको जग्गामा घर बनाउने भन्नेमा धेरै विवाद आयो’, धुर्मुस भन्छन्, ‘कम्पाउन्डसहितको २० वटा घर बनाउने जग्गा कसले दिने त भन्दै उनीहरु आफैंमा विवाद गरेपछि माथिल्लो वस्तीमा छलफल गरेर काम थालेका हौं ।’
एकीकृत बस्ती बसाउने काम थाल्नुअघि स्थानीयले कुरा नबुझ्दा समस्या परेको धुर्मुस बताउँछन् । ‘साँघुरो सोचाइ, अशिक्षाको कमी भएको बस्तीमा काम गर्न निकै गाहो भयो’ धुर्मुस भन्छन् ।
काम गर्दै जाँदा विभिन्न प्रपोगाण्ड मच्चिएको तितो अनुभवसमेत धुर्मुससँग छ । ‘गुण्डादेखि स्थानीय राजनीतिक दलका नेताहरुले चलखेल गरे, काममा सहयोग गर्नुको साटो असहयोग गरे,’ उनले भने, ‘वनमा उजुरी पनि हालियो, रातारात कुरा फेर्दै मलाई उल्टै नराम्रो पनि बनाए ।’ तर, पछि सबैकुरा मिलेको धुर्मुस बताउँछन् । ‘पछि सबैले कुरा बुझ्नु भयो र समस्या आएन’ धुर्मुसले भने ।
अर्जुन घिमिरे ‘पाँडे’, हास्य कलाकार, भद्रगोल
भद्रगोलका अर्जुन घिमिरे ‘पाँडे’ काम गर्ने बानी नभए पनि यहाँ आएर उर्जाका साथ काम गरेको बताउँछन् । भन्छन्,‘यहाँ आएर काठको कामदेखि लिएर खन्नेसम्म काममा सक्रिय भएँ । जसको फलस्वरुप नमुना बस्ती बनाउन सकियो । यसले मलाई सन्तोष मिलेको छ’ पाँडेले रातोपाटीसँग अनुभव साटे ।
पाँडेले पहरे गाउँको नमुना बस्ती हेरेर सरकारले पनि पाठ सिक्नु पर्ने सुझाव दिए । ‘सस्तो, भरपर्दो र टिकाउ खालको र सबै कुराको सुविधा सम्पन्न एकीकृत वस्तीलाई सरकारले हेरेर यस्तै किसिमले अन्यत्र बनाउन सकियो भने सबै व्यक्ति समान देखिन्छ । नेपाल सरकारले यसतर्फ ध्यान देओस् ।’
कुमार कट्टेल ‘जिग्री’ हास्क कलाकार, भद्रगोल
हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ नोपलकै पहिलो एकीकृत नमूना वस्ती बनाउन पाउँदा धेरै खुसी लागेको बताउँछन् । ‘उदाहरणीय काम नै गरेको जस्तो महसुस भएको छ । नराम्रा कुराहरु बिर्सिएर राम्रो कुराहरुलाई मनन गरेर सबै जना उठ्ने बेलामा हामी खटिरहेका छौं । अरु साथीहरु पनि खटिरहनु भएको छ । अरु देशसँग तुलना गर्ने र मूल्याङकन गरेर मात्र हुँदैन । भाषण गरेर मात्र पनि नेपाल बन्दैन् । काम गरेर देखाउनु जरुरी छ’ जिग्री भन्छन् ।
उनले सरकारले इच्छाशक्ति देखाउने हो भने देश विकास गर्न धेरै सहज हुने बताए । देश बनाउने अभिभारा बोकेका व्यक्तिहरुले कुरा भन्दा काम धेरै गर्न जरुरी छ । मिठा–मिठा भाषण छाँटेर मात्र देश बन्दैन् । जसरी कलाकारहरु एउटा फिल्डमा आएर रात–दिन नभनिकन यहीँ बसेर पसिना बगाएर परिश्रम गरेर २० वटा घर निर्माण गर्यौं, त्यसरी नै देशका प्रमुख नेतृत्व गर्ने व्यक्तिहरु यसरी नै गाउँ छिर्ने, काठमाडौंमूखी मात्र नभएर भिजन बोकेर गाउँ–गाउँ जाने हो भने उहाँहरुको पछाडि करोडौं नेपालीहरुले सहयोग गर्ने कुमार बताउँछन् । त्यसका लागि नेपालीले नै पैसा जुटाउँछन्, र नेपाली नै खट्छन् । यो राष्ट्र निर्माणको लागि । राष्ट्र बनाउनु छ भने यसरी सुरुवात हुनुपर्छ । यसलाई नेपाल सरकारले पाठको रुपमा सिक्नु जरुरी छ । हामीमाथि कलाकारहरुको व्यग्य हो भनेर बुझेर अगाडि बढ्ने हो भने साँच्चिकै नेपालमा विकास हुन धेरै समय नलाग्ने उनी बताउँछन् ।
महेन्द्र तामाङ, कामदार, नुवाकोट
नुवाकोटबाट मसहित ७० जना साथीहरु जेठ २२ गते म यस ठाउँमा आएको हौं । सुरुमा आउँदा हल्का अफ्ठ्यारो महसुस भएको थियो । ७० जना साथीहरु आए पनि पछि विस्तारै घट्दै ७/८ जना मात्र भयौं ।
यहाँका वासिन्दा र धुर्मुस दाइहरुसँग मिलेर काम गर्दै जाँदा पछि सजिलो नै भयो । जंगलबाट काठ ल्याइयो धेरै दुख गरेर । तर, त्यो दुखलाई अहिले चटक्कै बिर्सिएको छु । किनकि राम्रोसँग काम सफल भयो । सबैजना खुसी छन्, र म पनि यसैमा खुसी छु ।
भूकम्पपछि गाउँका सबै घर भत्किए । नगरपालिका भएरपनि के गर्नु । एउटा राहत पनि केही आएको छैन् । धुर्मुस–सुन्तली आएर एकीकृत नमूना वस्ती बनाउने भनेर लागि पर्नुभयो अहिले सकियो पनि । खुसी लागेको छ । हाम्रा लागि उनीहरु भगवान हुन् । हामी फुलवारी भगवतीको गुठीमा बसिरहेका हौं । उनीहरुले हामीलाई यस्तो दुखको बेला आएर घर बनाइदिनुभयो । हामीले त पहिला कस्तो घर बनाउन खाजेका हुन् । टहरा नै निर्माण गरिदिने पो हुन् कि जस्तो मनमा लागेको थियो । अहिले यस्तो घरहरु देख्दा अचम्म लाग्छ । एउटा बजार नै जस्तो देखिएको छ । एक बोरा चामल कसैले नदिएको बेला यस्तो घर हामीलाई बनाइदिनु नै हाम्रो लागि यो ठूलो चुनौती हो । उहाँहरु भनेको हाम्रो दोस्रो भगवान हुन् । पहिलो भगवनले विनाश गरेर गए । हाम्रा माता–पिता सरहको भगवान हुनुहुन्छ ।
कलाकारहरुले त यस्तो घर बनाएर पहरी वस्तीलाई एकीकृत नमूना वस्ती बनाइदिन्छन् भने सरकारले पनि यस्तै गर्न सक्नपर्यो । यस्तै घरहरु नेपाल सरकारले सबै ठाउँमा बनाउनुपर्छ । यसरी हामीलाई कलाकारहरुले घर बनाए झैं नेपाल सरकारले अन्यत्र ठाउँमा पनि यस्तै घर बनाइदिनुपर्छ । यस्तै काम गर्यो भने नेपाल सरकारलाई मान्छौं, नत्र के मान्नु ?
0 comments
Write Down Your Responses