सुदीप विश्वकर्मा
१५ साउन, काठमाडौं । धान दिवसको अवसरमा महिलामाथि अश्लिल हर्कत गरेपछि कृषिमन्त्री पदबाट राजीनामा दिएका हरिप्रसाद पराजुली यतिबेला गुमनाम छन् । चौतर्फी आलोचनापछि राजीनामा बुझाएका पराजुली यतिबेला बेकामे मात्रै भएका छैनन् प्रभूको शरणमा पुगेका छन् ।
राजधानीको मूलपानीमा महिलामाथि करिब ४० सेकेण्ड गरेको व्यवहारले पराजुलीको जीवनको बाटो नै बदलिदियो । बहालवाला कृषिमन्त्री पराजुलीले महिलामाथि अश्लिल हर्कत गरेको आज एक महिना पुगेको छ । एक महिनासम्म उनी घरबाहिर त्यति निस्केका छैनन् ।
महिलामाथिको अश्लिल हर्कतपछि चौतर्फी आलोचनाको शिकार बनेका पराजुलीले १७ असारमा राजिनामा दिएका थिए । पराजुलीका स्वकीय सचिवालयका कर्मचारीका अनुसार, राजिनामा दिएको भोलिपल्टै पराजुली चितवनतिर हानिए । चितवनको धार गाउँमा पराजुलीको स्थायी घर छ । आलोचना चौघेरा सहन नसकेर उनी एक हप्ता परिवारसँगै बसे । परिवारमा उनकी श्रीमती र एक छोरा छन् ।
हप्तादिनपछि चितवनबाट पराजुली काठमाडौं फर्किएका थिए । काठमाडौंको अनामनगरमा डेरा थियो । छोरी उनीसँगै बस्दै आएका थिए । ‘अहिले उहाँ किसानको केन्द्रीय कार्यलयमा जानुहुन्छ ।’ नीजि सचिवालयका कर्मचारी हेमचन्द्र खतिवडाले भने, ‘समय परिवेशले यस्तो हुनुपर्यो, यसले राजनीतिक गतिविधिमा खासै असर गरेको छैन ।’
पराजुलीलाई आएको चौतर्फी दबाबले उनले मोबाइल नम्बरसमेत परिवर्तन गरेका छन् । पराजुलीको पुरानो ९७४१०४४५५६ को नम्बर अहिले उनी चलाउँदैनन् ।
खबरडबलीले उनको नयाँ नम्बरमा सम्पर्क गर्दा संक्षिप्त कुराकानीमा उनले भनेका छन्, ‘धर्मकर्ममा लागेको छु , यतिबेला रघुपति राघव राजाराम…. भन्दै मन्दिर जान्छु, घण्टा हल्लाउँछु ।’
पराजुलीसँग गरिएको छोटो कुराकानी यस्तो थियो ।
के गर्दै हुनुहुन्छ ?
–किर्तन गाउँदै छु ।
के किर्तन गाउनुहुन्छ ?
– रघुपति राघव राजाराम, पतित पावन सीताराम ।
तपाईं त कम्युनिष्ट नेता धर्मकर्म तिर किन ?
–मलाई फेसबुके र अनलानेहरुले सिद्ध्याए । शम्भु दंगाल भन्ने आधा पागलले फोटो हालेर सकायो ।
कहाँ बस्नुहुन्छ ?
अनामनगर पुरानै डेरामा छु ।
दैनिकी कसरी बितिरहेको छ ?
– बिहान मन्दिर जाने, घण्टा हल्लाउने गरिरहेको छु । शुद्ध सात्वीक भोजन गर्ने गर्छु । ‘हे प्रभु, मलाई मिडियाका सबै मान्छेदेखि बचाउ भन्दै प्रार्थना गर्छु ।’ यिनी भन्दा ठूलो मान्छे कोही रहेनछन् संसारमा, भन्ने गरेको छु ।
कहाँ गएर यस्तो किर्तन गर्नुहुन्छ ?
चुनदेवी तिर गएर प्रार्थना गर्छु ।
राजनीतिक गतिविधिमा हुनुहुन्न ?
राजनीति गतिविधिमै छु । किसानको कार्यलय बल्खुमा जान्छु । माननीयज्यूहरु काम लिएर आउनुहुन्छ । उहाँहरुको काम गरिदिन्छु । जनताको काम आउँछ, जनताको काम गर्छु ।
आफ्नै व्यवहारले राजनीतिक जीवनकै ठूलो दागको सामना गरिरहेका पराजुलीबारे स्वकीय सचिवालयका कर्मचारीको छुट्टै गुनासो छ ।
स्वकीय सचिवको गुनासो यस्तो छ :
पराजुलीको स्वकीय सचिव हेमचन्द्र खतिवडा मिडियाले पराजुलीलाई ठूलो दुःख दिएको गुनासो गर्छन् । ‘महिलाले जबरजस्ती गरेको फोटो बाहिर आएन मन्त्रीज्यूले गरेको मात्रै आयो’, उनले भने, ‘उहाँ निकै खुल्ला दिलको मान्छे हुनुहुन्थ्यो तर मिडियाले गरेको व्यबहार देख्दा आश्चर्य लाग्छ ।’
पराजुलीले केपी ओलीलाई अध्यक्ष बनाउन निकै सहयोग गरेका थिए । एमाले भित्र बामेदव खेमाबाट ओलीलाई सघाएका उनलाई गुटगत रुपमा ठूलो प्रहार भएको एमाले कार्यकर्ता बताउँछन् । माधव नेपाल पक्षधर विद्यार्थीले त पराजुलीको राजीनामा माग्दै पुत्लासमेत जलाएको थियो । ‘उहाँमाथि मिडिया मात्रै होइन, पार्टीकै अर्को गुट पनि सक्रिय रुपमा लागि पर्यो ।’ खतिवडा भन्छन्, ‘तर पार्टीले निर्दोष भनेको छ ।’
आजभन्दा ठिक एक महिना अघि असार १५ मा राजधानीको मूलपानीमा आयोजित धान दिवस सम्बद्ध कार्यक्रममा महिला माथि अश्लिल हर्कत गरेपछि पराजुलीको मन्त्री पद खुस्केको थियो ।
उनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । चौतर्फी आलोचना पछि एमाले केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई अध्यक्ष केपी ओली घरमै बोलाएर राजीनामा दिन दबाब दिएका थिए ।
दबाबको भोलीपल्ट बिहानै उनले अध्यक्ष ओली समक्ष राजिनामा बुझाएका थिए ।
-khabardabali बाट
0 comments
Write Down Your Responses