लगानी गर्न चिनियाँ कम्पनी नेपालमा

काठमाडौं: नेपालमा विदेशी लगानीको आह्वान भइरहेका बेला लगानी गर्न भन्दै चिनियाँ कम्पनी दर्ता गरिएको छ। चाइना चेम्बर अफ कमर्स नेपाल प्राइभेट लिमिटेड नामको संस्था नेपालमा दर्ता गरिएको हो । कम्पनीको अध्यक्षमा चिनियाँ नागरिक च्याउ झाङ रहेका छन्।


नेपालको पुनर्निर्माणमा लगानी गर्ने उद्देश्यका साथ कम्पनी खोलेको अध्यक्ष झाङले बताए। 'भूकम्पपछि नेपालको पुनर्निर्माणमा लगानी गर्ने मुख्य उद्देश्य हो', अध्यक्ष झाङले अन्नपूर्णसँग भने, 'यसबाहेक कृषि, पर्यटन क्षेत्रमा लगानी गर्ने योजना बनाएका छौं।' नेपालको नियमकानुन अनुसार यहाँको विकासमा सहयोग गर्न लगानी भित्र्याएको उनको भनाइ छ।


कम्पनी स्थापनामा नेपालका तर्फबाट बागदी शेर्पा र विपिन सक्रिय छन्। विदेशी लगानी नेपाल भित्र्याउने उद्देश्यका साथ आफूहरू लागेको उनीहरूको भनाइ छ। पहिलो चरणमा कम्पनी दर्ता गर्ने काम सम्पन्न भएको र आगामी दिनमा कार्यालय स्थापना गरी अगाडि बढाउने योजना रहेको उनीहरूले बताए।

नेपालमा खोलिएजस्तो चाइनिज कम्पनी विश्वका धेरै मुलुकमा खुलिसकेको उनीहरूले बताए। 'अमेरिका, भारत, मलेसिया, जापान, इन्डोनेसिया, इटलीलगायत चिनियाँ नागरिक भएका धेरै देशमा उनीहरूका कम्पनी छन्', विपिनले भने।


विभिन्‍न देशमा लगानी गर्ने क्रममा नेपालमा पनि कम्पनी खोलिएको हो। कम्पनीको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार राजधानीमा उदघाट्न गरेका हुन्।

,

0 comments

Write Down Your Responses