फेरि शाहरुख–संजय भिडन्त
काठमाडौ, श्रावण १८ - बलिउडमा ठूला स्टारहरुका फिल्म एकै दिन कमै मात्र रिलिज हुन्छन् । एकैदिन रिलिज गर्दा बजार बाँडिने र कमाई कम हुने डरले यस्तो हुन्छ । कहिलेकाहीँ भने ठूला स्टारका फिल्म एकै दिन भिड्छन् ।
यस्तै भिडन्त यो पालि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा बलिउडमा हुने भएको छ । शाहरुख खान, काजोल, वरुण धवन र कीर्ति साननले अभिनय गरिरहेको रोहित शेट्टिीको फिल्म ‘दिलवाले’ सँग जुध्ने भएको छ, संजय लिला भन्सालीको ‘बाजिराव मस्तानी’ । यसमा रनवीर सिंह, दिपिका पादुकोण र प्रियंका चोपडाले अभिनय गरेका छन् ।
शाहरुख र संजय लिला भन्सालीको फिल्म जुधेको चाहिँ यो पहिलो पटक होइन । शाहरुखको ‘ओम शान्ति ओम’ र संजयको ‘साँवरिया’ पनि एकै दिन रिलिज भएका थिए । त्यतिबेला शाहरुख–दिपिकाको ‘ओम शान्ति ओम’ले बाजी मारेको थियो । यसपालि भने दिपिका शाहरुख होइन, संजयको फिल्ममा छिन् ।
दुई वर्षजति अगाडि पनि शाहरुख खानको ‘जब तक है जान’ र अजय देवगनको ‘सन अफ सरदार’ एकै दिन रिलिज भएका थिए । यी दुवै फिल्मले सय करोडभन्दा बढी कमाएका थिए । यसअघि पनि बलिउडमा एकै दिन रिलिज भएका दुइटै ठूला फिल्म हिट भएका छन् । आमिर खान र सनी देअोलका फिल्म एकैदिन रिलिज भएका घटना तीनपटकका छन् । अामिरको दिल र सनीको घायल, अामिरको लगान र सनीको गदर एकै दिन रिलिज भएका थिए । यस्तै, सनीको ‘घातक’ र आमिरको ‘राजा हिन्दुस्तानी’ पनि एकै दिन रिलिज भएका थिए । अामिरकै ‘तारे जमिन पर’ र ‘वेलकम’ सँग एकै दिन रिलिज भएको थियो । यी सबै फिल्म हिट भएका थिए ।
0 comments
Write Down Your Responses