विवादमा फिल्म अवार्डहरु

काठमाडौ, श्रावण २४ - नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले वितरण गर्ने अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरियो, १६ साउनमा । मनोनयन सार्वजनिक कार्यक्रममा नेफ्टाका पदाधिकारीले अवार्ड विवादमुक्त पार्ने प्रतिबद्धता जनाएका थिए । दुर्भाग्य ! अवार्ड त परै जाओस्, मनोनयन नै चर्को विवादमा फस्यो ।

गत वर्षको हिट फिल्म कबड्डीका निर्देशक रामबाबु गुरुङको नवनिर्देशकको मनोनयन, अलबिदाबाट हसन खानको नवअभिनेता र जेरी फिल्मको पुरुष गायनमा नरेन लिम्बूको मनोनयन विवादमा परेका हुन् । किनभने, रामबाबुले यसअघि दुई फिल्म अनागरिक र ब्लक लिभ निर्देशन गरिसकेका छन् भने हसनको पहिलो फिल्म अलबिदा होइन, चार वर्षअगाडि रिलिज भएको नाइट क्विन हो अनि जेरीमा समेटिएको नरेनको ‘भन्न आउँदैन...’ बोलको गीत सन् २०१२ मै सार्वजनिक भएको थियो ।

दसैँको छेको कतारमा अवार्ड समारोह भव्य बनाउने भन्दै आयोजक नेफ्टाका पदाधिकारी व्यस्त देखिन्छन् तर मनोनयन नै विवादमा फसेपछि धेरै फिल्मकर्मीले नेफ्टा अवार्डको निष्पक्षता र गरिमाप्रति अहिलेदेखि नै ओठ लेप्राउन थालेका छन् । भलै नेफ्टाका अध्यक्ष मनोज केसी मनोनयन चयनको कमजोरी आयोजकको नभई जुरी र सम्बन्धित फिल्मका निर्माताको हुने भन्दै पन्छन् खोज्छन् ।

उसो त नेफ्टाको मात्र होइन, नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) अवार्डको मनोनयन पनि विवादको घेरामा परेको छ । रमाइलो त के भने २६ भदौमा हुने भनिएको एनएफडीसी राष्ट्रिय अवार्डको मनोनयनमा परेकाले नै आफूलाई समावेश नगर्न सार्वजनिक अपिल गरेका छन् । तीन विधामा मनोनयनमा परेको फिल्म कोहिनुरका निर्मातामध्येका एक चन्द्रप्रसाद श्रेष्ठले दर्ता प्रक्रिया र प्राविधिक त्रुटिपूर्ण तरिकाले कोहिनुरलाई अवार्डमा समावेश गरिएकाले हात झिकेको बताएका छन् ।

त्यस्तै, उत्कृष्ट कोरियोग्राफीको मनोनयनमा परेको फिल्म अलबिदा अवार्डबाट बाहिरिएको छ । आफूलाई जानकारी नै नदिई मनोनयन गरेकाले बाहिरिएको निर्माता हसनको भनाइ छ । कोहिनुरका निर्माताले पनि अप्रत्यक्ष रूपमा हसनको जस्तै असन्तुष्टि पोखेका हुन् तर एनएफडीसी अवार्ड कार्यक्रमका संयोजक दयाराम पाण्डे दुवै फिल्मका निर्माताले अवार्डका लागि भरेको फर्म आफूसँग सुरक्षित रहेको दाबी गर्छन् ।

नेफ्टा र एनएफडीसीको त भइहाल्यो, चलचित्र विकास बोर्डले भर्खरै वितरण गरेको राष्ट्रिय अवार्ड पनि विवादबाट मुक्त हुन सकेन । उत्कृष्ट छान्न जुरीभन्दा बोर्डका पदाधिकारी र विभागीय मन्त्री हावी भएको खबरले फिल्मवृत्तमा तरंग पैदा भएको छ । गत वर्ष त विकास बोर्डको अवार्ड झन् धेरै आलोचित बनेको थियो । खास गरी फिल्म मसानबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड नीता ढुंगानालाई दिएपछि फिल्मकर्मीले खुलेरै विरोध गरे किनभने मसानमा मुख्य भूमिका केकी अधिकारीको थियो ।

यही रवैया देखेरै हुनुपर्छ, लामो समयदेखि विभिन्न अवार्डमा निर्णायकको भूमिका खेल्दै आएका वरिष्ठ साउन्ड इन्जिनियर प्रदीप उपाध्याय राष्ट्रिय अवार्डमा सरकारीतन्त्र हावी भएको आरोप लगाउँछन् । “विकास बोर्डले दिने अवार्ड अरू आयोजकलाई नमुनालायक हुनुपथ्र्यो,” उपाध्याय दुखेसो पोख्छन्, “तर, बढी विवाद यसमै देखिन थालेको छ । यसले समग्र अवार्डकै गरिमा घटाउने डर रहन्छ ।”

पछिल्लो समय अवार्डको बाढी नै आएको छ । अघिल्लो वर्षको आँकडा हेर्ने हो भने पनि अवार्डको लहर कुन हदसम्म बढेको छ भन्ने अनुमान लगाउन सकिन्छ । जस्तो कि, गत वर्ष करिब सयको हाराहारीमा फिल्म रिलिज भए, जसमध्ये आधा दर्जन फिल्मले मुस्किलले लगानी उठाउन सके । अवार्डचाहिँ एक दर्जनभन्दा बढी भए । नेपालमा मात्र होइन, हङकङ र बेल्जियममा समेत नेपाली फिल्मको अवार्ड समारोह सम्पन्न भयो । यस वर्ष अवार्डको ताँती तुलनात्मक रूपमा अझ बढी हुने देखिन्छ ।

भूकम्पले करिब चार महिना प्रदर्शन ठप्प भयो, तीन महिना त सुटिङ नै अवरुद्ध भयो तर अवार्ड आयोजक फिल्म निर्माण र प्रदर्शनमा देखिएको यो सुस्ततामा संवेदनशील देखिएनन्, बरू अवार्ड आयोजनामै

मरिहत्ते गर्दै छन् । विकास बोर्डले समेत अवार्डलाई नै प्राथमिकतामा राख्यो । अब एनएफडीसी, नेफ्टासँगै डी सिने, सिजी कामना, इनास, इन्फा, बक्स अफिसलगायतका अवार्ड हुँदै छन् ।

अवार्डको संख्या बढ्नु आफैँमा नराम्रो होइन तर गुणस्तरीय र विश्वसनियता कायम गर्न नसक्नुले चाहिँ चिन्ता बढाएको हो । वरिष्ठ इन्जिनियर उपाध्यायले भनेजस्तै अवार्डमा विकृति हावी भएको छ, गरिमा र सम्मान खस्केको छ । अर्वाड ‘राम्रालाई भन्दा हाम्रा’लाई दिएको, बार्गेनिङ भएदेखि उत्कृष्ट जुरीले नभई आयोजकले छानेकोसम्म हल्लाले अवार्डको साख गिराएको छ । जस्तो : अघिल्लो वर्ष नेफ्टामा उत्कृष्ट बाल कलाकारको अवार्ड अनुभव रेग्मीले अस्वीकार गरेका थिए । पैसा हालेर हङकङ जानुपर्ने आयोजकको प्रस्ताव अनुभवका अभिभावकले अस्वीकार गरेपछि उनको मनोनयन हटाइयो । तर, पछि फेरि उनलाई नै अवार्ड दिइयो र अनुभवले अस्वीकार गरे । त्यस्तै, संघको सदस्यता नवीकरण नगरेकाले विगत तीन वर्षयता सम्पादक वनिस शाहलाई नेफ्टाले निषेध गरेको छ । शाह भन्छन्, “संघको कार्यशैली मन नपरेर सदस्यता नवीकरण नगरेको हुँ तर यसको अवार्डसँग के सम्बन्ध छ, अचम्म लागेको छ ।”

एनएफडीसी अवार्डको पहिलो संस्करणमा विकास बोर्डका तत्कालीन अध्यक्ष धर्मेन्द्र मरवैता र एनएफडीसीका अध्यक्ष उद्धव पौडेलको शीतयुद्धका कारण सर्वोकृष्ट अभिनेत्रीको अवार्ड अन्तिम समयमा नीताको पोल्टा परेको चर्चा फिल्म बजारमा पछिसम्म चलेको थियो । भर्खरै विकास बोर्डले वितरण गरेको उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड हिरोइन ऋचा शर्माले पाउनुमा सञ्चारमन्त्री मिनेन्द्र रिजालको भूमिका रहेको आरोप लगाउने चलचित्रकर्मीको कमी छैन । पछिल्लो समय खास गरी अभिनेत्रीको अवार्ड आयोजकको स्वार्थ अनुरूप बाँडिन थालेको चर्चा बढी सुनिन थालेको छ । एक फिल्मकर्मी दुखेसो पोख्छन्, “केहीअघिसम्म अवार्डमा पैसाको मात्र चलखेल हुन्थ्यो तर अब हिरोइनसँगको सम्बन्धले बढी प्रभाव पार्न थालेको छ ।”

यस्तो विकृति हावी भएपछि     अवार्डप्रतिको आमदृष्टिकोण स्वाभाविक रूपमा नकारात्मक बनाएको छ । विकृति यति अकासिएको छ कि फिल्मकर्मी स्वयंले अवार्ड बहिष्कारको घोषणा गर्न थालेका छन् । दीपेन्द्र के खनाल, रेखा थापालगायतले आफू र आफ्नो फिल्म अवार्डमा सहभागी नहुने घोषणा गर्नुले पनि अवार्डको स्तर कति खस्केको स्वत: पुष्टि हुन्छ । रेखाले नेपालमा आयोजना हुने अवार्डलाई ‘कोठे’को संज्ञा दिँदै बहिष्कार गरेकी हुन् भने चार अवार्ड हात पारिसकेका खनालले झोलेपछि अवार्ड मोह त्यागेका हुन् । किन त ? खनाल भन्छन्, “अवार्ड पाउँदा गर्वभन्दा लाज मान्नुपर्ने अवस्था आएपछि के मज्जा भयो र ?” उनले नेफ्टासहित अन्य अवार्डमा झोले विभिन्न विधामा मनोनयन भए पनि फिर्ता लिएका थिए । त्यसो त उनले चलचित्र समीक्षक समाजले वितरण गर्ने क्रिटिक्स अवार्डलाई भने बहिष्कार नगरेको बताए । क्रिटिक्स अवार्ड निष्पक्ष र विश्वसनीय हुने उनको भनाइ छ । समाजले गत वर्षदेखि अवार्ड सुरु गरेको हो । वर्षभरि रिलिज भएका फिल्म समाजका सदस्यले हेरेर विभिन्न विधामा उत्कृष्ट छान्छन् र उत्कृष्ट अवार्ड दिनु पहिले नै घोषणा गरिन्छ । यस वर्षका लागि समाजले एक साताभित्र उत्कृष्टको घोषणा गरिसक्ने अध्यक्ष यज्ञशले जानकारी दिए । दर्जन ज्यादा अवार्डको संयोजक र निर्णायक रहेका रंग पत्रकार शान्तिप्रिय पनि अवार्डप्रतिको सम्मान र गरिमा घटेको स्वीकार्छन् । अवार्ड वितरणमा आयोजकको प्रकृति र नियत स्पष्ट नभएकाले समस्या उत्पन्न हुँदै गएको उनको भनाइ छ ।

उसो त संसारभरका फिल्म अवार्डमा विवाद हुनु सामान्य मानिन्छ । अवार्ड पाउँदा मक्ख पर्ने, नपाउँदा विरोध गर्ने प्रवृत्ति बाहिर पनि छ । ओस्कार र कान्सजस्ता निकै प्रतिष्ठित अवार्ड पनि कहिलेकाहीँ विवादमा पर्छन् । तर, ती अवार्डको नियत र प्रक्रिया पारदर्शी हुने भएकाले बढी विश्वसनीय छन् । जस्तो : करिब सात हजार जुरी हुने ओस्कार अवार्डमा हलिउडमा एक वर्षभर प्रदर्शन भएका फिल्महरूबीच उत्कृष्ट छानिन्छ, निर्मातासँग आयोजक र जुरीको प्रत्यक्ष साक्षात्कार हुनुपर्दैन, सम्बन्ध हुनु पर्दैन । कान्सको हकमा त्यहीँ प्रदर्शन भएका फिल्मबीच मात्र प्रतिस्पर्धा हुन्छ र निश्चित जुरी तोकिएका हुन्छन् । छिमेकी मुलुक भारतमा भने उत्कृष्ट चयन र वितरण प्रणाली उति पारदर्शी र स्तरीय मानिँदैन ।

वरिष्ठ निर्देशक यादव खरेलको अनुभवमा नेपालमा अवार्डको अझ गलत अभ्यास भइरहेको छ । आयोजकको नियत, जुरीको क्षमता र योग्यता, अवार्डको मापदण्ड र प्रकृतिजस्ता पक्ष स्पष्ट नभइन्जेल अवार्ड मर्यादित नहुने खरेलको भनाइ छ । “उचित काम गर्नेलाई अवार्ड दिँदा प्रोत्साहन मिल्छ । त्यसैले अवार्डको संख्या धेरै भयो भनेर आत्तिनु पर्दैन,” खरेल भन्छन्, “तर, सही मूल्यांकन भएन र पूर्वाग्रह राखियो भने सबैलाई हतोत्साहित बनाउँछ । हामीमा यही प्रवृत्ति बढ्नुचाहिँ दु:खद पक्ष हो ।”


बक्स

जसले निरन्तरता पाएनन्

विसं ०४३ मा लायन्स क्लब, काठमाडौँले वितरण गरेको अवार्डलाई पहिलो फिल्म अवार्ड मानिन्छ । त्यतिबेला कान्छी फिल्म उत्कृष्ट ठहरिएको थियो भने शिव श्रेष्ठले उत्कृष्ट नायक र शर्मिला मल्लले उत्कृष्ट नायिकाको अवार्ड जितेका थिए । त्यसपछि बिस्तारै नेपालमा अवार्डको लहर छायो तर अधिकांश अवार्ड एक–दुईपटक गरेर बन्द भए । नेपाल चलचित्र संघले प्रदान गर्दै आएको मोसन पिक्चर अवार्ड तीन वर्षमै बन्द भयो । केही वर्षअगाडि प्रिया सिने पत्रिकाले अवार्ड बाँडेको थियो तर दोस्रो संस्करणसमेत हुन पाएन ।

एक दशकअगाडि बिजी भन्ने अर्को फिल्म अवार्ड गरिएको थियो । प्रियाजस्तै एक वर्षमै बन्द भयो । त्यस्तै, नेपाल वान टीभीको अवार्डले पनि निरन्तरता पाउन सकेन । अनलाइन पोर्टल फिल्मी खबरडटकमले निकै होहल्ला गरेर तीन वर्षअगाडि अनलाइन फिल्मीखबर अवार्ड (ओफा) सुरु गरेको थियो । यही अवार्डमा बिनाजानकारी मनोनयनमा राखेपछि मेघा फिल्म युनिटले प्रहरीमा उजुरीसमेत दिएको थियो । पछि आयोजकले निर्मातासँग माफी माग्यो । अरू पनि विवादमा मुछिएको यो अवार्ड अब फेरि दोहरिने छाँटकाट देखिन्न । प्रशस्त गृहकार्यबिना नाफा कमाउने र अन्य फाइदा लुट्ने स्वार्थ बोकेका अवार्ड बन्द हुने रंग पत्रकार शान्तिप्रिय बताउँछन् ।

,

0 comments

Write Down Your Responses